दृश्यहरूबीच मोनालिसा

म रुविना । मेरो दृश्यबाट अतीतको एउटा दृश्य । समयले बनाएको यो दृष्य, केही समय सम्म अस्तित्वमा आयो । अनि आफ्नै गतिले उम्कियो । यसै दृश्यमा जोडिएको छ, मेरो कथा । म सँगै चाहेर वा नचाहेरै यसै कथाको पात्र बन्न पुगेको अनन्तको कथा । अनि हाम्रो कथाको साक्षी बनेको समयको कथा । मैले अनन्तलाई चिन्दा देखि नै ऊ अन्तर्मुखी थियो । उसको यो जन्मसिद्ध गुण मैले मानेको छु । मैले कहिल्यै उसको स्वभाव बुझ्न सकिनँ । उसलाई बुझ्न खोज्नु उसको नामको पार पाउनु जस्तै हो । म आफूलाई यत्ति बुझाएर चित्त बुझाउँदै आएकी छु । एकदिन उसले आत्मविश्वास साथ भनेको थियो, “म जस्तो छु त्यस्तो हुन विवश छु । विवशताको विकल्प मैले आफूभित्र सङ्ग्रहित गरेको छु । म ठीक छु र खुसी पनि ।” उसका अनुभवबाट हजारौं भावना अस्तित्वमा आउँछन् । बाहिरी संसारसँग संघर्ष गर्दै अस्तित्वको खोजीमा हुन्छन् । ऊ जस्तो छ । ऊ ठीक छ । ऊ सँगको मेरो मितेरी छ । सुरुवातमा हाम्रो मितेरी सम्झैता जस्तो थियो । हामी एक अर्का सँग अपवाद हुन्थ्यौं । ऊ प्रति म उत्तरदायी भएकी हैन, मैले हुनु पनि हुँदैन । उसले मलाई साथी मान्छ, असल साथी । मलाई यसमा शंका छैन् । उसको विचारसँग म सहमत छ