टार्गेट @ गर्लफ्रेण्ड (कथा)

- ओजोन निरौला
आजकल म आफै पनि प्रष्ट बन्न थालिसकेको छु । गोजीमा बजेको उसको मोबाइल बज्दा-बज्दै फोन कसले गरेको हो मेसो पाउन थालिसकेको छु । मोबाइल बजेकै बेला उसको अनुहारमा आउने विचित्रको तरङ् पनि मैले बुझेको छु । अनुमान लगाउँछु उतिबेला उसका दिमागमा प्रेमालापका अनेक भावना नाच्दा हुन् र त्यसैको प्रतिविम्ब स्वरुप अनुहारले त्यो आकृति मन्दा मुस्कानको साथमा पाउँदो हो । उसकी प्रेमीकासँग फोनमा गफिनको पूर्वतयारी पनि हुन सक्छ त्यो । अनि एक–आधा घण्टा उसले गरेको त्याग स्वरुप समयको अर्को लक्षण हुन सक्छ त्यो ।
“हेल्लो” उसले स्वरमा सकेसम्मको तरलता र ‘रोमान्टिक’ बन्ने चेष्टा गदै कुरा सुरु ग-यो ।
मैले ‘इयरफोन’को अर्को ठेडी घुसार्न भ्याइसकेको थिएँ ।
“गुड मर्निङ्” केटीले सुरिलो स्वरमा औपचारिक ढाँचामा बोली ।
“सेम टु यू” केटोले बोल्न केही झिजो मानेझैँ गरेर जवाफ दियो । मैले हाँसो थाम्न सकिँन । त्यसमा पनि दुई जोडी प्रेमालापमा लिप्त बन्न सुरुवात मात्र भएको छ । कवाफमा हड्डी किन बनिदिने मैले ? कानबाट ठेडी पनि कति छिटो झिकेँछु वा म उठ्दा त्यो आफै निस्क्यो पनि हेक्का भएनछ । अलि पर गएर खित्का छाडेर बेसोमति झै हाँसिदिएँ ।
केटो केटीलाई सम्झाउने प्रयत्नमा बोल्दै थियो ।
“हैन यहीको दाइ, हैन कोही छैन् ।”
मैले को हो ? सोधेको थिएँ । “उमेरको सदुपयोग” उसले अनौठो उत्तर अति सहज किसिमले फर्काएको थियो ।
“ए बधाई छ ।” उसले अर्थ बुझला वा ऊ मख्ख पर्ला यो उसमै निहित भयो ।

सम्झन्छु, यो उमेरमा रोमान्स नगरेर कहिले गरोस् ? सायद ऊ अहिले १० मा पढ्छ, हैन सेन्ट–अप फेल भएर पढ्नै छाडेको छ । म के गर्थे उसको बेलामा, हिम्मत जुटाएर केटीसँग एक निमेष आँखा जुधाएर सोधेको प्रश्नको उत्तर एकै श्वासमा फ्याँकेर रातोपिरो भएको अनुहारले राहतको श्वास फेर्थेँ । के केटीले खान्थे मलाई ? के नयाँ पुस्ता बाठो छ भन्नेको उदाहरण हो यो ? अनि के यसलाई बठ्याइँ भन्न मिल्छ ?
उसको गफ चल्दै थियो । मोबाइलमा चार्ज कम भएछ क्यार उसले चार्जर जोड्यो । मेरो पनि त्यही बेला मोबाइल बज्यो । मिसकल सम्झेँ । हैन रहेछ, दोस्रो पटक पनि बज्यो । पुरानो फोनको टिरिङ्...टिरिङ् ध्वनी राखेको थिएँ, चर्को कर्कस ध्वनी आउन थालिसकेको थियो । अनि मात्र उठाएँ ।
“किन ढिलो उठाइस्येको ?” कुनै बेला हातैमा फोन हुँदा एकै रिङ्मा फोन उठाउँदा उसले झपारेकी थिई मलाई । त्यही सम्झेँ ।
–“थाहा पाइनँ”
“के गर्दै होईसिन्छ ?”
– “लुगा सिलाउँदै । मसँग सियो नलगाऊ । हामी साथी हौँ, साथी भएर बोल, श्रीमतीजस्तो हैन् ।” मैले धेरै पटक उसलाई भनेको छु । फेरी पनि दोहोर्याएँ ।
“ल भयो माफ पाउँ, के गर्दै हुनुहुन्छ ?”
–“तिमीसँग बोल्दैछु ।”
“मलाई थाहा थियो तिमी यही भन्ने छौँ ।”
–“थाहा थियो भने किन सोधेको ?” भनेको भए के हुन्थ्यो मैले ? के म त्यति साह्रो छुच्चो छु ? अहँ मैले बन्नु हुने थिएन । म माथि धेरैले छुच्चोपन देखाएका छन् । त्यो भन्दा माथि ऊ त एउटी प्रेमीका बनेर आएकी छे । मलाई प्रेम गर्छु भन्छे । अनि यो सम्झईदिएकी छे, समय र शैली सिक्नुपर्छ तैँले नत्र आफैलाई बिर्सनेछस् ।
– “म साँच्चै बोरिङ् छु है ।” प्रेमीकासँग के कुरा गर्नुपर्छ भन्ने हेक्का पनि नगरी मैले सोधेँ ।
“जति नै स्वाङ् पारे पनि म हजुरलाई रोमान्टिक भन्दिन” उसले फेरि ‘हजुर’ लगाई । यो सम्झाएको भए कुरा मोडिने थियो । मैले केही भनिनँ । तर मैले यथार्थ बोलेको थिएँ ।
भित्र कोठाबाट केटोको गुनगुन मात्र सुनिन्थ्यो । यसरी घण्टौँ सम्म फोनमा झुन्डिन के शीर्षक मिल्छ ? मेरो भने गफ नै सकिएछ । सधैँ एउटै कुरा सोधेर पनि कतै प्रेम होला ? के प्रेमिकालाई सोध्ने मसँग केही प्रश्न छैन् ? कि मलाई प्रेम गर्न नआएको हो ? के अब म उसलाई आलु र गोलभेडाको भाऊ सोधूँ ? कि एक्कासी फोन अफ गरिदिऊँ ?
सम्झेँ, विश्वको आधा जनसङ्ख्याले आज सम्म फोनमा “हेल्लो” भन्न पाएको छैनन् । तर हाम्रो यहाँ यस्तो दुरुप्रयोग छ । के जोस चढेको हो मलाई । दोस्रो तरिका नै उचित लाग्यो । अब फोन गोजीमा थन्क्याएर आफ्नो घर लागेँ । केटो मन्द स्वरमा बोलिरहेको थियो ।
दिमाग पनि कति लवस्तरो, नचाहिने कुरा छिटो टिप्ने । केटोको मोबाइल बज्दा उसकी प्रेमिकाको नम्बर देखेको थिएँ याद भएछ । यसरी चाहिने कुरा टिपी दिए दैव जानुन् म कहाँ हुने थिएँ होला ।
मैले उसकी प्रेमिकालाई जिस्क्याएँ भने के होला ? जे पर्ला मैले मिसकल गरिदिएँ । फोन गरी भने बोल्छु । के मैले कन्जुस गरेको हुँ ? हैन सायद, सम्भवनालाई अघि सारेर कार्य छोट्याएको हुँला । अथवा सजिलो उपाय निकाले हुँला । जे होस्, केटीको मन थामिएन छ क्यार “कल ब्याक” गरीहाली ।
“किन मिसकल गर्नुभएको ?” सानो स्वरमा केटी बोली ।
–“मैले नै लगाएको हुँ । तिमीसँग बोल्न मन भएर गरेकोले । आइम् सरी फर दि इन्टरप्सन् ।” मैले आफ्नो मनसाय प्रकटपनि गरिहालेँ ।
–“तिम्रो नाम के होला ?” उसले आफूलाई चिनाई । चाहेको भए उसले झूट बोल्न सक्थी तर त्यसो गरिन ।
“योगेश त्यही छ हो ?” उसले बुझिसकेकी रहेछ मैले नम्बर कहाँ बाट पाएको ।
– “छैन्” मैले पनि यथार्थ बोलेँ ।
–“तिम्रो योगेशसँग कसरी भेट भयो ?” मैले किन चासो देखाएको होला ? सम्झँदै थिएँ ।
“सपनामा देखेको थिएँ ।” उसले उत्तर फर्काई । मैले जोक नगर्न अनुरोध गरेँ र जिद्दी गरेँ तर दोस्रो पटक पनि उसले उसै गरीटारी ।
ऊ भन्न चाहन्नथी । यत्तिकैमा “डेडी आउनु भो राखेँ है” भनेर उसले फोन काटी ।
मैले उसलाई तिम्रो स्वर राम्रो रहेछ भन्न पनि भ्याएको थिएँ । सम्झेँ मैले आफ्नीलाई त यस्तो कहिल्यौँ भनिन् । जे होस् आफ्नी त आफ्नै भई हाली जिस्क्याउने त अरुलाई पो त !

उसको स्वरमा झुकाव थियो । ऊ पुलकित भएकी होला । उसको स्वर नै उसको जादू होला क्यार । कतै म पनि यसको स्वरझँै ऊ तर्फ झुक्न पुग्ने त हैन ? सोचेर दिमागलाई दखल दिन के लागेको थिएँ । केटो मेरो घरमा आयो । उसलाई त अघि नै मेरो कुरा रिले पनि भइसकेको रहेछ । ऊ आत्तिएको देखिन्थ्यो । उसले नभएको परिचय बनाएको रहेछ र यसैका भरमा उसले गर्लफ्रेण्ड टिकाएको रहेछ । मैले पनि आश्वस्त पारिदिएँ “ल नभनिदिउँला ।”
–“अनि कसरी भेटेको रे ?”
“साईबरमा आएकी थिई । उसको दिदीको मेरो साथीसँग चक्कर रहेछ उसले मिलाई दिएको ।”
“त्यसपछि अनि भेटेको छस् ?”
–“साथीको स्कूटी मागेर गएको थिएँ ।” उसले फूर्तीका साथ बोल्यो ।
“थाहा पाई भने के होला ?”
–“जे होला देखा जाला ।” उसले यो बीचमा अपशब्द पनि मिलायो ।
“म उछिट्याईदिउँ ?” हाँस्दै सोधेँ ।
–“मान्ने छैन्” ऊ हास्यो । उसको स्वरमा विश्वास थियो ।
“ए बधाई छ ।” मैले भनेँ ।
केही दिनमा कसैले उसकी प्रेमीकालाई यथार्थ भनिदिएछ । उसको शंकाको दायरमा म पर्नु स्वभाविक थियो । के म अरुको गर्लफ्रेण्ड ताक्दै हिँड्ने देख्यो त्यसले ? झपारेर पठाएँ । पछि आफै बुझेछ, स्कूटी दिने साथीले उसको दिदीलाई र दिदीबाट बहिनी सम्म कुरा पुगेको रहेछ ।
कुरा सामान्य बितेछ । केटीले मलाई फोन गरेरे आधिकारिक पुष्टीको ‘अल्टिमेटम’ लिन्छे भनेर मैले सोचेको बेकार भयो । झूठलाई नै स्वीकार गरेर प्रेममा लिप्त हुनेसँग मेरो के थियो ? तर केटीले पत्याइनँ भनेर केटोभित्र अर्को खुसी पछिको अर्को विनासक भावना उत्पन्न भएकोले म आत्तिएको छु । त्यसो भएमा उसको गल्तीमा म पनि गाभिने निश्चित छ ।
मेरो भने केही दिन अघि प्रेमीकाले भेट्न आउनु भनि । मैले घरमा भेट्छु अन्यथा नभेट्ने स्पष्ट जवाफ दिएँ ।
-“डेडी ममी कडा होईसिन्छ । म हजुरलाई घरमा भेट्न सक्दिनँ । मलाई आजबाट फोन नगरिसिओस् ।”
"जस्तो तिम्रो ईच्छा । म स्वतन्त्र छु न मलाई प्राप्तिको खुसी थियो न त विछोडको पीडा नै हुनेछ ।"
म चाहन्थेँ उसले बुझोस मेरो प्रेम प्लाटुनिक हो । हामी बीचको अन्तिम संवादको यहि थियो ।

Comments

  1. ओजोन भाइ, कथा सरस र सरल छ। शैली पनि राम्रो लाग्यो मलाई। कथाका प्रसंगहरु जोड्दा अलि ध्यान दिनुपर्ने देखिन्छ। र कथाको अन्त्यलाई अझ रुचिपूर्ण बनाउन सकिने ठाऊँ पनि छँदैछ।

    ReplyDelete
  2. मार्गदर्शनका लागि धन्यवाद दाई । म हजुरको सुझावलाई अनुशरण गर्नेछु ।

    ReplyDelete
  3. यस्तै हुन् अहिलेको मान्छे र प्रेम । कथालाई झकास भने कसो होला ?

    ReplyDelete
  4. ahile ko samay ko bastbikta jhalkaune nikai utkrishta katha....ozon dai...

    ReplyDelete

Post a Comment

Comments

Popular posts from this blog

Crack Internet Download Manager (IDM) No virus

ब्लगिङ् अनुभव । Blogging Experience

Increase torrents download speed