Friday, December 2, 2016

रिक्सा


विधाः
 संस्मरण
लेखकः 
विजय सागर लामिछाने
सम्पादकः 
सन्दिप निराैला



लगभग साँझको ५ बजे हाम्रो बच्चाबच्चीको हुल असिनपसिन हुँदै अध्यारो कोठाबाट बाहिर आँगनमा निक्लियो । निमेषभरमै ताराको घरको आँगनलाइ केटाकेटिको हल्लाले ढाक्याे । फिलिम हेर्नु एउटा पक्ष थियो भने फिल्म सकेपछी ताराको घरको आँगनमा काैतुकित हुदै फिल्मको समिक्षा गर्नु अर्को पक्ष । मिथुनले यसरी उडि-उडि ‘फाइट’ हान्यो, गुन्डा चिच्यायो, रगत बग्यो,  अनि मर्याे । हामी बच्चाबच्चीको हुललाइ यस्ता कुरा नगरेसम्म फिलिम हेरेको मज्जा अाउदैनथ्यो ।

हाम्राे हल्लामा एउटा रुखो र बुढो आवाज मिसियाे । खल्यानको एउटा शितलाे कुनामा बिछ्याइएको चारपाइमाथि पल्टिएकी ताराकी बज्यैकाे अावाज । उनलाइ हामी केटाकेटि कराएको त्यति मनपर्दैन थियो । केहिबेरपछि शीथिल भएझै गरेर उनको रूखो र बुढो श्वर हामी केटाकेटिहरूको कोलाहोलामा मलिन हुदै जान्थ्याे । अनि बन्द हुन्थ्यो । तर माथि अथाराबाट दुइ जाेडी अाँखाहरूले हाम्राे भिडलाइ चियाइरहेका हुन्थे । ताराकी जेठी दिदी अमृता र मलाइ गुडिया झै  राम्री लाग्ने कान्छी दिदी कल्पना हाम्रा गन्थनका दुवै स्रोता र दर्शक हुन्थे । उनीहरू हाम्राे भिडलाइ जिज्ञासु भएर हेर्थे र माैन भएर सुन्थेँ तर केहि बोल्दैनथे । उनीहरूलाइ हिन्दी फिलिम प्रति खासै चाह थिएन । त्यसैले उनीहरूलाइ हामीलाइ जसरी शनिबार लाग्थेन । टिभी काेठाकाे छेउकाे कोठा उनीहरूको थियो । अम्रिता दिदी सजिए जसरी उहाँकाे काेठा सजिएकाे हुन्थ्याे । भित्तामा हिराे- हिराेनिका ठुलाे पाेस्टर । टेबलकाे पछाडिपट्टी प्लास्टिककाे गुलाफ र नयाँ बर्षका गिफ्टहरु । लस्करै मिलाएर राखिएका किताबहरू । सँगसगै एकछेउमा फाेटाे एल्बम । सेताे चिप्लाे कपडामा राताे गुलाबकाे फुलवाला लेस जुन टेबल र खाटमा सदाबहार चै-चै खेलिरहेका हुन्थे । तिनले बिशेष सुन्दरता झल्काउथे । उनिहरूको समय बिताउने यो शैलि थियो । कहिलेकाहि घरमा अाउने अम्रिता दिदीका साथीहरू पनि एल्बम खाटभरि फिजाँएर फोटो हेर्दै दिन बिताउथे ।

अाँगनको भीड उस्तै थियो । भिड बाट निक्लिएर ताराकाे खाेकामा अढेस लाग्न पुगेकाे कालु, अथारामाथि अाफ्नी दिदीसँग बसेकी कल्पनालाइ एकटकले हेरिरहेकाे थियाे । जब कालुले मलाइ भिडबाट निक्लेर अाफुलाइ हेरिरहेकाे पायाे उसले अाफ्नो नजर फनक्क घुमायो । उसका नजर सडकपारी गाेठ र गोठमा राखिएकाे डल्लमा पुगायाे । र उ नबाेली उतैतिर बतासियाे ।

आँगनको उत्तरी कुनाको भान्साकाेठा बाट धुवाको मुस्लो संगै ताराकी ममी बाहिर निस्कनुभयो । उहाँ हतार-हतार घर पछाडिको धारातिर जानु भयो । म पनि आफ्नाे धुलाम्मे खुट्टा पखाल्न ठुलिममीलाइ पछ्याउँदै उतै गएँ । घरपछाडि ठुलो तरकारि बारी थियो । ठुलिममीले मौसमि र बेमौसमि दुबै खालका रहर लाग्दा तरकारी फलाउनु हुन्थ्यो । हरेक साँझ धारामा पानी आएको बेला बेर्ना चार्न जानुहुन्थ्यो । म खुट्टा पखालिसकेपछी ठुलिममीको पछि लाग्दै बारिभित्र पसेँ । मग्मगाउदो धनिया, गमक्क परेका बन्दागोबी र आलिकाे छेउमा रोपेका मुला हेर्दै हेर्दै बारिको अर्काे कुनामा पुगे । फर्किदै गर्दा आलिको डिलमा बडेमानको मुला देखेँ । लामा-लामा काडेदार र रशिला पातहरुले भुइ छोएकाे । मुलाको भेट्नोनिरको भाग हरियो खिया लगेको जस्तो देखिन्थ्यो । ओशिलो माटोमाथि मुलाकाे सेताे भाग केहि मात्र देखिएकाे थियाे । हाम्रो बारीमा त्यति ठुलो मुला मैले कहिल्यैँ देखेको थिइँन । हाम्राे घरकाे रातो मुला त सारै पिरो हुन्थ्यो । सर्लक्क परेकाे मुसाको पुच्छर जस्तो । ममीले रातो मुला काटेर थालामा राख्दा निकै मिठाे हाेला जस्ताे देखिन्थ्यो । त्यही मुला ड्याडिले भात सँग चपाउँदै खादा मलाई पनि मुला खान खुबै रहर लग्थ्यो । जब म त्यस्तै गरी कुरुम-कुरुम गरी चपाउथें, मुलाको पिरो राग नाक र मुखबाट बाट सोझै घाँटिकाे भित्री भागमा पस्थ्यो । पीरो हुन्थ्यो । पोल्थ्यो । असय्ह बनाउथ्यो ।

मैले आलिको डिलको बडेमानको सेतो मुला देख्दा आफ्नाे बारीको रातो मुला बिर्सिएँ । सोचें, यो मुला त पक्कै पनि हाम्रो घरको रातो मुला भन्दा मीठो हुनुपर्छ । त्यति नै बेला, धमिलाे ढिकानुन र अाकाशतिर फर्केर फल्ने हरियाे रंगकाे खुर्सानि पिसेर बनाइने चट्नी सम्झेँ । कल्पनाले नै मुखभरि पानी जम्याे ।  मेरो कल्पना भंङ्ग गर्दै, धाराबाट ठुलिममी चिच्याएको सुनें । म दौड्दै  घर अगाडिको आँगनमा पुगे ।

झिसमिस साँझ पर्न थालेको थियो । ताराको आँगनमा हामी फिल्मी केटाकेटीरूको हुल थिएन । आँगनको उत्तर तर्फको चिप्लो भुइंमा कल्पना एक्लै आराम-पाते खेल्दै थिइ । तारा सधै झैं आफ्नो खोकामा १ रुपैयाँ जाने भुजा बेच्दै थियाे । काेही भुजा भित्रका फिलिमका पाेष्टकार्डलाइ अाेल्टाइ पाेल्टाइ हेर्दै थिए । भद्र मामा सडक पारि ताराको गोठमा राखिएको डल्लपनिर आफ्ना दुइ चेला ऋषि र राजेशसँग बात मार्दै थिए । मैले यी दृश्य बेवास्ता गरेँ । मुखले गाडीकाे जस्ताे ‘भुर्रर्रर’ आवाज निकाल्दै अाफ्नो इन्जिन स्टार्ट गरेँ । गियर लगाएँ, स्टेरिङ घुमाएँ र सुकेको खोला काटी आफ्नो घरतिर चक्का रूपी मेरा खुट्टा दौडाएँ ।

………………………

रमाइलो शनिबार सकियो, आइतबार आयो । स्कुल जाने दिन । टिफिनका लागि भुटेको चिउराको बास्ना आँगनभरी फैलियो । म सँगसंगै हाम्रै स्कुल फर्सट, राजेन्द्र दाइलाई पनि ममीले भुटेको चिउरा सारै मन पर्थ्याे । त्यसैले म प्राय भुटेको चिउरा टिफिन लैजान्थे । म भाइबिना सहित घर अगाडिको खोला कटेर ताराको घरसम्म आइपुग्दा ताराको खोकानिर लहरै, अमृता दिदी, राजेन्द्र दाइ, कल्पना, तारा र कालु स्कुलको रिक्सा कुरिरहेका हुन्थे । उनीहरु बजारको रिक्सावाला पिसल्यान्ड स्कुल पढ्थे । उनिहरुलाई स्कुल सम्म लैजान र बेलुका घर फर्कन राताे रिक्सा आउथ्यो । म र भाइबिना भुरुवाको एभरग्रीन स्कुल पढ्थ्याैं । हामी हिढेर जान्थ्याैँ । रिक्सा चढेर कल्पनासँगै स्कुल जान पाइन्छ भनेर मैले कहिले काँही साँझपख घरमा रोइकराइ गर्थेँ । तर मेरो बिलाप घर अगाडिको खोलाका झ्याउकिरिकाे झ्याउ-झ्याउसँगै मिसिन्थे । साथैमा उत्तर लाग्थे । सुत्ने बेला सम्म जंगलमा गएर हराउँथे ।

म भाइबिनाको हात समातेर राजमार्गमा पुग्न लाग्दा पछाडिबाट टिनको रिक्सा अावाज निकाल्दै राजमार्गमा उक्लियो । रातो रङ्गको रिक्साभित्र कलेजी रङका सर्ट लगाएका केटाकेटी लहरै बसेका थिए । तारा सधै झैं एकछेउको झ्यालपट्टी बसेकाे थियाे । अनि कल्पना अर्को झ्याल्पट्टी । कल्पनाकै छेउमा चपक्कै पारेर कपाल कोरेको कालु अटेसमटेस गर्दै बसेको थियो । यो देख्दा मेरो मन बिहानबिहानै इर्श्याले पोल्याे । आफु कल्पना सँगै रिक्सामा बसेर स्कुल जान नपाएकोमा ममी सँग रिस उठ्थ्यो । ड्याडिसँग रिस उठ्थ्यो । आफैसँग रिस उठ्याे ।  र कालु सँग पनि । म विकल्प बिहिन थिएँ । एउटै मात्र चाहना थियो । रिक्सा र कल्पनासँगै  रिक्सावाला स्कुल ।

राजमार्गमा उक्लेकाे रिक्सा एकैछिनमा हामी भन्दा अगाडी पुग्यो । रिक्सा भित्रबाट कल्पनाले हात हल्लाउदै टाटा गरी । मलाइ रिक्सामै बसे सरहकाे अनुभुति भयाे । सबै रिस एकछिनमै मरेर गयो । सोचेँ एक न एक दिन त कसो नपुग्ला मेरो चाहना । कुदिरहेको रिक्सालाई पूर्व दिशाबाट बत्तिदै आएको नाइट बसले पेल्दै झन किनारमा पुर्यायो । बस राताे रिक्सा उछिन्दै लम्की बजारमा पस्यो । बसलाई पछ्याउदै रिक्सा पनि लम्की बजार जाने मान्छेहरूको भिडमा बिलायो । रिक्साभित्रकि कल्पना पनि बिलाइ । र कल्पना सँगै रिक्सा चडेर स्कूल जाने धोको एक बिहानका लागि बिलिन भयाे ।

त्यसपछिका थप पाँच बिहान लगातार मलाइ कल्पना र कालु सँगै रिक्सामा बसेर स्कुल गएकाे पिडादायक दृस्य अवलोकन गर्न पर्‍यो । कल्पनाले रिक्सा भित्रबाट गरेको टाटाले रिक्सा चढेजस्तै एकछिन शितल त बनाउथ्याे तर मन भित्रको जलन कुनै टाटाले शितल बनाउने अवस्थाको थिएन । स्कुल छुट्टी भएर हामी घर नपुग्दै हाम्रै घरतिरबाट बेगले फर्किदै गरेकाे रिक्सा देखा पर्थ्याे । उही घाउ फेरी बल्झन्थ्यो, मन उस्तै पोल्थ्यो । म हरेक साँझ भात खाने बेलामा रिक्सावाला स्कूल पढ्न जान्छु भनेर ड्यमडी-ममीसँग जिद्दी गर्थे । तर सधैं एउटै बाचा पाउँथें । फर्स्ट आएमात्र रिक्सावाला स्कुल हालिदिने बाचा । जुन मेराे लागी लगभग असम्भव नै थियाे ।

………………………

शनिबार अायो । सधै सिङ निकालेर उदाएजस्ताे लाग्ने सुर्य, हामीले चित्र बनाउँदाकाे जस्तै, अाँखा, नाक, हाँसिलाे मुख भएको सुर्य चिसापानीकाे डाँडाबाट उदायो । आँगनमा भुटेको चिउराको बास आएन । धोएर सुकाइएका ३ जोडी सेतो रङका ड्रेस पुर्वी आँगनको डोरिमा झुन्डिरहें । हाम्रो नल्कामा पानी भर्न आउने आइमाइहरुले गाग्रीमा पानी भरेर पश्चिम आँगनमा बिसाएर हाम्राे शितलाे बरान्डामा बसेर धेरैबेरसम्म गफ गरिरहे । शनिबार गफिन पाइने दिन । छोराछोरी स्कुल पठाउन हतार गर्नु नपर्ने दिन । अघिपछिका दिन ती आइमाइहरूका हुल झर्को लाग्दो भए पनि शनिबारको दिनमा रमाइलो थियो । शनिबारले फुर्सद ल्याएको थियो । हामी केटाकेटिको लागि हप्तामा १ पटक आउने शनिबार र बर्षमा एकचोटी आउने तिहार उस्तै थियो । हाेमवर्क गर्न नपर्ने । झ्याउकिरिले कानैखाने गरि झ्याउझ्याउ नगरेसम्म खेल्न पाउने ।

दिउँसोको दुइ बज्न लाग्यो । मेरो शरिर घरमा थियो तर मन ताराको घरको टिभीमा । कालु अघि नै सास रोकेर कुदे जस्तै गरि खोला कटेर टिभि हेर्न कुदिसकेकाे थियाे। म पनि ममीको आँखा छलेर खोला काटेर जाने दाउ खाेज्दै थिए । एतिकैमा खत्री बाजेको ढिकिनिर भद्र मामाका चेलाहरू, ऋषि र राजेशलाई देखें । उनिहरू भद्र मामाकाे साथमा थिएनन् । उनिहरु हाम्रो घर नजिक आइपुग्दा म घरबाट सुटुक्कै निक्लेर घर अगाडिको खोलाको ढिकमा उनिहरुलाई कुरिरहेँ ।  सोचेँ, अाज म कसो यिनीहरू लाइ चेला नबनाउँ । खोला नजिक अाउनासाथ उनिहरुलाई एक अर्काको हात बलियो गरी समाउन लगाए । तिनीहरूले मैले भने बमोजिम गरे । मैले उनीहरूको हातको बलियो सिक्रिमाथि आफ्नो दायाँ खुट्टा चढाएर बाया खुट्टाले घोडाको जस्तै टाप मार्दै ताराको शुन्य आँगनमा पुगें । कल्पना बाहिर आरामपाते खेल्न बनाइएका कोठाका मधुरा धर्साहरुलाई टायलको टुक्रोले कोर्दै थिइ ।  मेरो घोडाको सवारी देखेर कल्पना हाँसी । हत्तपत्त ऋषि र राजेशले हात फुत्काए । म पनि लाजले एकछिन अथारा जाने लिस्नो निर उभिएँ ।  गोरो वर्ण, पातलो शरिर भएकी कल्पना, शनिबारको दिन दुइ चुल्ठी कपाल र सेतो फ्रकमा परी जस्तै सजिएर बसेकी हुन्थी । अघिपछि उसको रूपको वास्ता नभएपनि शनिबारको दिन चाहिँ कालु र म कल्पनालाई हेरेको हेर्यै हुन्थिम । उस्को र मेरो, कल्पनालाई हेर्ने प्रतिस्पर्धा नै हुन्थ्यो । जुन प्रतिस्पर्धा २ बजेको लाटो समाचार नसकिएसम्म चल्थ्यो ।

धर्सा कोर्न छोडेर, कल्पनाले म तिर हेर्दै भनि, “बियास, फिलिम सुरु भैसक्यो, छिटो भित्र जाउ ।”
यति सुन्ना साथ हामी तीन जना बिस्तारै टिभी कोठाको ढोका धकेल्दै भित्र छिर्यौं । हामी सँगसगै बाहिरको उज्यालाे अध्याराे कोठाभित्र छिर्यो । “ब्ल्याक एण्ड ह्वाइट” टिभिको पर्दामा ठोकिएर टिभिको दृश्य सेताम्मे भए । भित्र बसेकाहरुले एकै आवाजामा गालीले स्वागत गरे । हामी नसुनेको जस्तै गरी एउटा कुनामा गएर थचक्क बस्यौं ।

हाम्रो टोलमा ताराको घरमा मात्र टिभि थियो । जुन टोल भरिकाले हेर्न पाउथें । बिहीवार राती चन्द्रकान्ता हेर्न ठुलाको भिड लाग्थ्यो भने शनिबार दिउँसो फिलिम हेर्न हामी बच्चाबच्चीहरुको । सधैंझै लाटो समाचार सकिएपछि तारा खोकामा सामान बेच्न छोडेर झ्याल नजिकको कुर्सिमा बस्थ्याे । टिभि हेर्न छिटो आउनेहरु कुनामा खप्याएर राखेको कडिमाथि बस्थें । त्यसपछि आउनेहरु कडि भन्दा मुन्तिरको चिसो भुँईमा बस्थें । अन्तिममा आउनेले सबभन्दा अगाडि बसेर घाँटि तन्काएर हेर्थे । र कहिले काही जङ्ल नजिकको कामीको बस्तिबाट आउने केटाकेटिहरुले झ्याल बहिरबाट खुट्टा तन्काइ तन्काइ हेर्थे । जसरि हेर्नु परेपनि फिल्मको मजा सबैले बराबरी लिन्थे ।

जब फिलिम सकियो, ढोका नजिक बस्नेहरु आँखा मिच्दै बाहिर आँगनमा गए । मुत रोकेर बस्नेहरु हत्तपत्त ट्वाइलेट दौडिए । जो फिलिमका असली किरा हुन, ती भने अन्तिम नाम नसकिने बेला सम्म अध्यारो कोठामा थुनिएर बसे । एकैछिनमा ताराको आँगनमा अक्षय कुमारको चर्चा हुन थाल्यो । केही केटाकेटी हिरोले जस्तै उडी-उडी हानेको फाईटको नक्कल गर्दै थिए । ताराकी बज्यैलाई शनिबारको दिन गाली गर्ने बानी परिसकेको थियो । कसैले ध्यान नदिए पनि उनको गालीले हाम्रो भिडलाई नै सम्बोधन गरिरहेको हुन्थ्यो । तर हामी बच्चाबच्चिको हो-हल्लाले ताराकी बज्यैकाे गालीलाई पराजित गरिदिन्थ्यो । सधैको शनिबार जस्तै ।

म चाहिँ, तीन घण्टासम्म भुँइमा धसिएका गोडा धुन म घर पछाडिको धारामा गए । गोडा धोएर फर्कने बेलामा मलाई एक्कासी त्यो मुलाको याद आयो । भद्र मामा नभएको मौका पारेर मामाका ती दुइ चेलालाई लगाएर मुला चोर्ने ‘प्लान’ बनाए । म खुट्टा धोएर आँगनमा आउँदा भिडमा अक्षय कुमारको नै चर्चा थियो । आराम-पाते खेलिरहेकी कल्पनासँग अब कालु पनि मिसिएको थियो । म कल्पनासँग जति नै नजिक हुन खोजेपनि कल्पनासँग गट्टा र आराम-पाते खेल्न कहिल्यै मिसिएको थिइनँ । मेरो त चाहाना एउटाै थियो, कल्पना सँगै रिक्सामा बसेर पिसल्याण्ड स्कुल पढ्न जाने । मलाइ कल्पना, कालु, रिक्सा यी सबै देख्दा नै अाफ्नो इच्छा याद हुन्थ्यो ।

मेरो दिमागमा फेरी मुला आयो । मैले केहि हतार नगरि भिड्ँमा रहेका ऋषि र राजेश्लाई बोलाएर बसपार्क तिर लागे । लम्की बसपार्कबाट ताराको बारिको अन्तिम भाग सजिलै पुग्न सकिन्थ्यो । फेरी राज्मार्गको बाटो बाट गएको देख्दा कसैले हामीलाई शंका गर्ने थिएनन् । ऋषि र राजेश योजना नसुनेरै मेरो पछि आए । दश मिनेटको हिडाइ पश्चात् हामी बसपार्क पछाडिको चौरमा पुग्यौं । हरेक साँझ झै बसपार्काका केटाहरु गब्बी खेल्दै थिए । हिक्मतले सधै झै अरुलाई पदाइरहेको थियो । केहि केटाहरु घरको जग उठाएको ठाउँमा बाद खेल्दै थिए । देवेको थेप्छे गुच्चाले सबैलाई हराइरहेको थियो । त्यो माहोल बाट कसैले चाल नपाउने गरी तर्केर ताराको बारी भएतिर लाग्यौं । किनकी हाम्राे खेल अरू नै  थियो ।

तारले बारिएको बारिभित्रको मुला देखाउदै मैले ऋषि र राजेशलाई उखेलेर ल्याउने आदेश दिए । आदेश पाउनासाथ उनीहरू अाज्ञाकारी चेला जसरी आर्मी जसरि कुइनाले टेकेर बारिभित्र छिरे । लामो जरा गाडेको मुला उखेल्न दुइ जनालाई हम्मे हम्मे पर्‍यो । उखेल्ने कोशिसमा, मुलाको हरियो पातहरु चुडिएर भेट्नो मात्र बाकी रह्यो । उनिहरुले कुनै हालतमा मुला उखेल्न नसकेपछि म पनि आर्मी जसरि कुइनाले टेकेर बारिभित्र छिरेँ । मुलाको भेट्नो समातेर एताउता हल्लाउन मात्रै के थालेको थिए, ताराको धाराबाट कसैले मेरो नाम लिएर बोलाउनुभयो । ठुलिममीको आवाज सुन्ना साथ ऋषि र राजेश तारमुनिबाट निक्लेर बसपार्कतिर भागेँ । मलाई चाहिँ नामै तोकेर बोलाएकाले भाग्ने आँट आएन ।

मलाई ताराको आँगनमा उपस्थित गराइयो । म आँगनभरिका निशब्द अाँखाहरूकाे बिचमा उभिएकाे थिए । म मुला चोर्दाचोर्दै रङ्गे हात पक्राउपरेको कुरा सबैले थाहा पाइसकेका थिएँ । मलाइ हेर्ने नजर हरू मध्ये कालुको नजरमा उत्सुकता थियो । कल्पना पनि खेल्दा खेल्दै टायलको गोलो पातो हातमा लिएर उभिई । उसैको अाँगनकाे एकटुक्रा भुँइमाथि उभिएकाे म लाचार थिएँ । उसले मेरो झुकेको शिरलाई बडो आश्र्चार्यजनक रुपले हेरी । अनि दगुर्दै लिस्नो चढेर अथारामा गइ । अब उसले मलाइ चराको दृष्टीले हेर्न सक्थी । मैले शिर उठाएर उसलाई हेर्ने आँट गरिन । झुकेका मेरा नजर जमिनतिर पारिरहें । भुइँको दुलोमा बस्ने कुटुङ्री बज्यैले पनि दुलोबाट निस्केर मलाई नै हेरी रहेको जस्तो लाग्यो । मैले आफ्ना नजर सिधा परेर हेर्न भन्दा भुइकी कुटुङ्री बज्यै लाई हेर्न उचित ठानेँ । भुइतिरै एकोहोरिनु बाहेक मेरो अर्को विकल्प केही थिएन । दिमागमा घनचक्कर चल्दै थियो । लाज र डरले म रातो पीरो भएको थिएँ । मैले टिनको रातो रिक्सा सम्झेँ । रिक्सामा बसेकी कल्पना सम्झेँ । अनि कल्पना सँगै बसेर स्कुल जाने सपना सम्झेँ । जुन त्याे खाँउ-खाँउ लाग्दाे मुला फुत्किएसरि बिस्तारै फुत्किदै गरेकाे अाभाष भयो ।

साँझ ढल्केसंगै खोलाका झ्याउकिरिहरु बाटोपारी डल्लप राखिएको गोठमा आएर कराउन थाले । ताराको आगनको भिड पातलियो । मलाई केरकार गरियो । अब त्यस्तो काम नदोहोर्याउने सर्तमा छोडियो । ढुक्ढुकिले आफ्नो रफ्तार कम गराउनु अघि नै म दौडेँ । खोला कटेर घर पुगें । मैले अाफ्नो इन्जिन स्टार्ट गर्न सम्झिँन, न गियर लगाउन, न स्टेरिङ धुमाउन, न अावाज निकाल्न । मेरो सपना जस्तै यी सबै “साइलेन्स” भैसकेका थिए ।

दिमागको घनचक्कर चलि नै रह्यो । मेरो त्याे काण्डसँग बेखबर मेरी ममिले राता मुलाको चाना एकछेउमा राखेको भातको थाल मतिर सार्दै भन्नुभयो, – ”ड्याडिले पानबहादुर सरसँग कुरा गरेर आउनु भाको छ । भोली देखी तिमीहरु पनि पारी ताराको दोकानानीर बाट रिक्सा छाडेर पिसल्याण्ड स्कुल जानु ।”

मैले आफ्नो थालको मुलाको चाना ड्याडिको थालमा सार्दै भने, “नाइ । अब देखि म कहिल्यै रिक्सावाला स्कुल जान्छु भनेर जिद्दी गर्दिन ।”

No comments :

Post a Comment

Comments