Wednesday, December 5, 2012

ब्लग र ब्लगिङ्का कुरा

लेखकः सन्दिप निरौल
(जनसंसद् दैनिक, काँकरभिट्टा बाट २०६९ मंसिर १८ गते प्रकाशित भएको मेरो लेख ।)

परिचय
आफ्नो विचार वा सिर्जना विश्वभर फैलिएको सूचनाको सञ्जालमा मार्फत बाड्नका लागि ब्लग अहिले विश्वभरि नै प्रयोग गरिदै आइएको छ । ब्लगको यकिन परिभाषा छैन् । तर शव्द निमार्ण प्रकृया हेर्दा, ब्लग (Web + Log) जोडिएर बनेको वेबलगको छोटो रुप हो । वेबको अर्थ इन्टरनेट र लगको अर्थ डायरी हो । ब्लग, वि–ब्लग, वेबलग वा वेबजर्नल यी सवैले अनलाईन डायरी भन्ने अर्थ बुझाउँछ । ब्लगमा ब्लगरले आफ्ना अनुभव र अनुभुतिलाई लेखेर सवै संग बाढ्ने गर्छ । यस्ता लेखलाई पोष्ट भनिन्छ र ब्लगमा प्रकाशित भएका लेखरचनालाई ब्लगपोष्ट भनिन्छ । यसरी अनलाईनमा आफ्नो डायरी लेख्ने कार्यलाई ब्लगिङ्ग र लेख्ने व्यक्तिलाई ब्लगर भनिन्छ । ब्लगरले आफ्ना रचना वा विचार ब्लगमा राख्दै र प्रतिदिन ताजा जानकारी राख्दै व्यवस्थापन गर्नुलाई अपडेट गरेको बुझिन्छ । यो ब्लगको किसिम वा प्रयोजन अनुसार ढिलो वा छिटो गरिन्छ । तर ब्लगको चिनारी भनेको नै त्यसको नियमित अपडेट र निरन्तरता हो ।

इतिहास
इन्टरनेटको विकास संगै विश्वको सुचना प्रणालीले ठूलै फड्को मार्यो । प्रारम्भमा इन्टरनेटको पहुच सिमित थियो । सवै क्षेत्रमा इन्टरनेट पुगेको थिएन । यसको विकास आज पनि भइरहेको छ । सुचना साट्न सकिने नयाँ प्रणालीको खोजी, प्रयोग गर्न सहज बनाईदैछ । सुचना बाड्ने प्रणालीलाई पनि सुधार गर्दै र सुरक्षित बनाउँदै गईरहेको छ ।

सुरुवातका दिनहरुमा ब्लग व्यक्ति केन्द्रित थियो । सिमित व्यक्तिहरु वेबपेज डिजाईन गरेर आफ्ना कुरा त्यसमा राख्थे । सन् १९९८ मा जर्नबार्ग भन्ने व्यक्तिले यस्ता वेबपेजहरुलाई वेबलग भन्ने नाम दिए । अक्टोबर १९९८ मा व्रिउस एविल्सन नामक व्यक्तिले ओपन डायरी नामक ब्लग गर्ने वेब साईट सुरु गरे । यो पहिलो ब्लगवेबसाईट थियो जसले पाठकहरु लाई ब्लगपोष्ट पढिसकेपछि प्रतिकृया दिने व्यवस्था गरेको थियो । यसको केही महिनामै यस्ता डायरी हजारौं संख्यामा इन्टरनेटमा पढ्न सकिने भयो । त्यसपछि, ब्लग व्यक्ति केन्द्रित हुन पुगेन । यो सवैले साझा किसिमले चलाउन सक्ने भयो । ब्लगसाइटलाई पनि परिमार्जन गर्दै सजिलो पारिदै गइयो । सन् १९९९ मा ब्लगर डटकम र अन्य ब्लगिङ साइटको स्थापना भयो । यसरी ब्लगमा थप सुविधा र परिमार्जन गरियो । अनि वेब–डिजाईन वा कम्प्युटर सम्बन्धी खासै दख्खल नभएका र वेशिक कम्प्युटर शिक्षा लिएका व्यक्तिहरूले पनि सहजरूपमा ब्लगिङ गर्नथालेका हुन् । ब्लगिङ् जगतमा नयाँ क्रान्ती आएको मानिन्छ । आजकल ब्लगलाई एकैसाथ धेरै जनाले विचार राख्ने वा कुनै समस्याको समाधान खोज्ने फोरम, कर्परेट ब्लग वा ग्रुप ब्लगको विकास भएको छ ।

नेपालमा ब्लगको शुरुवात
नेपालमा ब्लगको शुरुवात कहिलेबाट भयो भन्ने एकिन इतिहास छैन । सुरुवातका दिनहरु देखि आजसम्म नेपाली ब्लगको संचालनमा प्रवासी नेपालीहरूको उल्लेख्य सहभागिता रहेको छ । यसैले पनि नेपालमा ब्लगको विकास क्रमको चर्चा गर्न सकिएता पनि ब्लगमा प्रथम ब्यक्ति खोज्न भने गाह्रो छ । २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले राजनैतिक कु गरी शासनसत्ता हातमा लिए । त्यस्तो राजनीतिक परिस्थितिमा मिडिया माथि सेल्प सेन्सरसीप लागू भयो । यो सरकारी नीतिका कारण केही मूल धारका मिडीयाले वैकल्पिक संचार माध्ययमको रूपमा ब्लग प्रयोग गर्न थालेका थिए । त्यसबेला मूलधारको पत्रकारितामा संलग्न रहेका केही युवा पत्रकारहरू नै प्रत्यक्ष र अप्रत्यक्षरूपमा ब्लग लेख्ने कार्यमा संलग्न थिए । राजाको शासनकालमा संचार र स्वतन्त्रताप्रतिको अनुदार नीतिको कारणले तर्कालीन ब्लगरहरू जे देख्थे र सुन्थे, त्यही ब्लग मार्फत लेख्दथे । त्यसबेलादेखि ब्लग नै अतिरिक्त समाचार स्रोतकारुमा रहेको छ । मूल धारका मिडियामा कार्यरत पत्रकारहरू ब्लगिङमा क्रियाशील भएर लेखिरहँदा, नेपालमा ब्लगलाई न्यूज पोर्टलको रूपमा बुझिन थालेको थियो । पछि राजनीतिक विषय मात्र नभई, साहित्यका विविध विधामा ब्लगहरु लेखिन थाले । यसले ब्लगिङ् दुनियालाई थप आकार दियो । अहिले नेपालीहरूले संचालन गरेको ब्लगहरुमा कला, साहित्य, सूचना प्रविधि, आत्मपरक शैलीका रचना, दैनिकी, प्रेमपत्र, यात्रा संस्मरण, हास्यव्यङ्गय सम्म पाइन्छन् ।

ब्लग सेवा प्रदायक
इन्टरनेटमा विभिन्न सेवा प्रदायकले ब्लगिङ्ग सेवा दिएका छन् । यी मध्ये धेरै निःशुल्क छन् । जसमा, गुगल कम्पनिको ब्लगस्पोट र वर्डप्रेस निःशुल्क प्रयोग गर्न सकिने र ब्लगरहरु बीच चर्चित प्लेटफम हुन् । प्लेटफम भन्नाले ब्लग वा वेबसाईटमा सामाग्रि र जानकारीहरु थप्न, सम्पादन गर्न, मेटाउन सकिने प्रणाली बुझिन्छ । ब्लग सुरु गर्न मात्र एउटा ईमेल आइ. डी भए पुग्छ । कुनै सेवा प्रदायकले आफ्नै कम्पनीको ईमेल भएका लाई मात्र आफ्नो ब्लगको सुविधा दिने मापदण्ड राखेका हुनसक्छन् । जस्तै, गुगलको ब्लग बनाउन जीमेल आइडी आवश्यक पर्छ । सजिलोको हिसावले पनि गुगल ब्लगस्पोट लाई ब्लगरहरुले प्रथम रोजाई बनाएकाछन् । प्राय सवै ब्लगिङ्ग प्लेटफममा (र्वाट यु सी ईज र्वाट यु गेट | What You See Is What You Get, WYSIWYG) फिचर अर्थात, तिमी जे देख्छौं त्यहि पाउँछौं भन्ने वाक्यलाई मुल मन्त्र बनाएर कोडिङ् गरिएको हुन्छ । यसको अर्थ, ब्लगरले ब्लगपोष्ट लेख्दा वा सम्पादन गर्दा HTML Coding गरिराख्नु पर्दैन । वर्डप्रोसेसर प्रोग्राममा टाईप गरेजस्तै अक्षर सानो–ठूलो पार्न, रङ परिवर्तन गर्न, ब्लगपोष्टमा फोटो राख्न, ब्लगपोष्टभित्र फोटोको साईज घटाउन–बढाउन, भिडियो राख्न तथा र पेज ब्रेक गर्नसक्नुहुन्छ । ब्लग सेवा प्रदायकले ब्लगको डिजाईन पनि सहज रुपमा गर्न मिल्ने प्रणाली बनाएका छन् ।

ब्लग सुरु गर्ने गरिका
ब्लग संचालन गर्न चाहने जोसुकैले थुप्रै ब्लगिङ् प्लाटर्फम मध्ये आफूलाई मनपरेको वा सजिलो लाग्ने ब्लगगिङ् साईटको वेबसाईटमा गएर आफूलाई दर्ता गराउन सक्छन् । blogger.com वा wordpress.com तपाईको रोजाई बन्न सक्छन् । ब्लग दर्ता गर्ने क्रममा दर्तावालाले आफूले चाहेको ब्लगको ठेगाना के राख्ने हो सो राख्नु पर्छ । प्रायले आफ्नै नाम, अथवा ब्लगको प्रकार अनुसार राख्ने गरेका छन् । दर्ता प्रक्रिया पूरा गरेपछि ब्लग ठेगाना संसारको कुनै पनि स्थानबाट वेबब्राउजरमा हालेपछि सो ब्लगसाइट खुल्छ । यो ब्लग सुरु गर्ने सवै भन्दा सजिलो तरिका हो ।

आफ्नो ब्लग गोप्य राख्ने वा सिमित व्यक्तिलाई मात्र पढ्न दिने यो सुविधा पनि तपाई पाउनु हुन्छ । तपाई आफ्ना ब्लगपोष्टलाई छिनभरमै संसारभरिबाट हेर्नमिल्ने गरी सार्वनिक गर्नदेखि कसैले वा केहीले हेर्नमिल्ने गरी बनाउन सक्नुहुनेछ ।

व्लग अन्य किमिले पनि सुरु गर्न सकिन्छ । यसमा वेबपेज सम्बन्धि ज्ञान चाहिन्छ । यो खर्चिलो हुन्छ र असुरक्षित हुनसक्छ ।

ब्लग ठेगाना
निशुल्क ब्लग ठेगानामा, ब्लग सेवा प्रदायकको नाम पनि जोडिन्छ । तपाई आफ्नै वेब ठेगाना किन्न सक्नुहुन्छ । उदाहरणका लागि, मैले चलाउने गुगल ब्लगस्पोट ब्लागको मूल ठेगाना meozone.blogspot.com हो । यसमा जोडिएको ब्लस्पोटले यो ब्लग, blogspot.com मा दर्ता गरिएको थाहा हुन्छ । अहिले मैले आफ्नो ब्लगलाई वार्षिक डलर खर्च गरेर नेपालको टप लेभल डोमेन, sandipn.com.np बनाएको छु ।

ब्लगिङ् गर्दा ध्यान दिनुपर्ने कुराहरु
१. सकेसम्म सिर्जनात्मक लेखलाई मात्र स्थान दिनुहोस् । साभार जानकारी जस्तै समाचार पोष्ट गर्दै हुनुहुन्छ भने लिङ्क ब्याक गर्न नबिर्सुहोला । अरुको रचना चोरेर नकरात्मक ख्याति नकामाउनुहोस् ।
२. ब्लगपोष्टका शीर्षकहरू छोटा र आकर्षक बनाउनुस् । शीर्षक नदोहोर्याउनुस् । शीर्षक लेख सुहाउँदो भए नभएको मुल्याङ्कन गर्नुहोस् ।
३. ब्लगपोष्टको प्रस्तुतिमा ध्यान दिनुहोस् । कुरा र अनुच्छेद दुवै छोटा र विषय केन्द्रित राख्नुहोस् । आफ्नो ब्लगको मूल उदेद्दय पहिचान गर्नुहोस् ।
४. पाठक बढाउँन अरूका ब्लगपोष्टहरू अध्ययन गर्नुहोस् र प्रतिक्रिया दिनुहोस् । तपाईंले अरूको पोष्टमा जति प्रतिक्रिया दिनुहुन्छ, त्यति नै तपाईंको पोष्टले पनि प्रतिक्रिया र पाठक पाउने सम्भवना रहन्छ ।
५.पाठकहरूसित नियमित अन्तरक्रियामा रहनुस् र उनीहरूले दिएका प्रतिक्रियालाई खुला दिलले स्वागत् गर्नुहोस् ।
६. ब्लगलेखनलाई नियमित बनाउनुहोस् । अनियमित ब्लगरलाई अरु पाठक र ब्लगरहरुले ध्यान नदिन सक्दछन् ।
७. आफ्ना लेखरचनालाई समाजिक संजालको प्रयोग गरि धेरै जनामा बाड्नुहोस् । यसो गर्दा तपाइंको पोष्टका पाठकसंख्या बढ्ने सम्भवना रहन्छ ।
८. समय सापेक्षित लेखरचना र पढ्दा फाईदा हुने कुराहरु लेख्नुहोस् र बाढ्नुहोस ।

व्यवहारिक पक्ष
टिम ओरिल्लीले सात बुँदे, ब्लगर आचर संहिताको प्रस्ताव गरेका छन् ।

१. ब्लगमा प्रकाशित हुने आफ्ना शब्दको मात्र नभई, प्रकाशित गर्न अनुमति दिएको पाठकहरुको प्रतिकृया पनि जिम्मेवारी लिनुपर्ने ।
२. दुर्वचनयुक्त प्रतिकृया आएमा आफ्नो सहन शक्ति बनाइरहनुहोस् ।
३. अपरिचित भएर दिईएका प्रतिकृयालाई निषेध गर्नुहोस् ।
४. कुनै व्यक्तिले ब्लगमा विषय भन्दा भड्किलो र असान्दर्भिक प्रतिकृया दिएको त्यसलाई ध्यान नदिनुहोस् ।
५. वार्तालाप अफलाईन बनाउनुहोस्, र जवाफदेही बनाउनुहोस्, अथवा यस्तो परिस्थिति सम्हाल्न सक्ने मध्यस्थ खोज्नुहोस् ।
६. कसैले गलत आचरण देखाईरहेको भए उनीहरुलाई बताईदिनुहोस् ।
७. अनलाईनमा कुनै पनि त्यस्तो कुरा नभन्नुहोस् जुनकुरा तपाई प्रत्यक्ष व्यक्तिलाई भन्न सक्नुहुन्न ।

Happy Blogging :)

2 comments :

  1. Good article!

    I think the code of ethics is globally valid.
    Happy Blogging!!!

    ReplyDelete
  2. उपयुक्त जानकारी सहितको लेखका लागि यहाँलाई हार्दिक धन्यवाद ।

    ReplyDelete

Comments