Friday, September 14, 2012

पुस्तान्तरण : स्वभाविक परिवर्तन Generation Gap : Natural Change

  No comments


समय परिवर्तनशील र गतिशील छ । यही गतिमान् समयले युग र युगीन जमाना बनाउँछ । कुनै पनि व्यक्तिको जीवनकालमा उसले नयाँ र पुरानो पुस्ताको असन्तुलित परिवर्तन अनुभव गर्न पाउँछ । जन्मँदा उसको दर्जा नयाँ पुस्ताको हुन्छ र केही समय पछि उही व्यक्तिले अर्को कुनै पुस्तालाई नयाँ पुस्ताको संज्ञा दिन्छ । यो प्राकृतिक चक्र हो । तर बदलिदो समय बीच, दुई पुस्ताहरुमा मतभिन्नता विशेषतः व्यवहारगत भिन्नता, जीवन भोगाइप्रतिको चिन्तन र समयसँग रुपान्तरित नभएको सोचाई जस्तो आरोप र आफ्नो नयाँ पुस्ता ठीक भन्ने तर्क हुन्छन् ।
‘तेँरो उमेरमा मैले यस्तो गरिसकेको थिएँ ।’ कतिपय आमाबुवा आफ्ना छोराछोरीलाई सुनाउने गर्छन् । यसरी पुरानो पुस्ता नयाँ पुस्तालाई ‘घोडा कुदेको र हात्ती लम्केको मिल्दैन’ भन्दै सम्झाउँदै हुन्छन् । फेरि नयाँ पुस्ता आफूलाई पुरानो पुस्ताको तुलनामा वौद्धिक क्षमतामा अग्र रहेको भन्दै घमण्ड गर्छन् । तर अघिल्लो पुस्ता नयाँ पुस्ताको बठ्याईं स्वभाविक भएको र हरेक नयाँ पुस्ता बाठो हुँदै गएको बुझिसकेका हुन्छन् । यसरी जमानाको परिपक्वता व्यवहारिक वा बौद्धिक कुनै एकपक्ष बाट मात्र मुल्याङ्कन गर्न सकिदैन ।
छोरा बढेर बावु बनुन्जेल सम्म उसले आफ्नो बाबुलाई अनेक पक्षबाट तुलना गरेको हुन्छ । यो पनि उसको जीवनको एक पक्ष नै हुन्छ जुन प्रत्येक बावुछोरामा लागू भएको हुन्छ । पुस्तान्तरणको प्रकोपमा छोराले बाबुलाई विद्वानदेखि मूर्ख सम्म देख्छ । यसले कतिपय अवस्थामा बावुछोरा बीच पनि प्रतिस्पर्धाको रुप लिन्छ । छोरा बावु देखि असन्तुष्ट हुनसक्छ भने बावु छोरालाई आफू जस्तो नभएको हेर्न हरदम प्रयासरत हुन्छन् । दुवैको ध्येय सकरात्मक भए पनि समझदारीको अभावमा यसले बृहत रुप लिएको हुन्छ ।
पुस्तान्तरणको खाल्डो समयसँगै ठूलो र साँघुरिदै पनि जान्छ । समयसँग यो मनभिन्नतामा सन्तुलन नआएमा यसले नकरात्मक रुप लिन सक्छ ।
समाजिक मान्यता, संस्कार, संस्कृति, भाषा, रहनसहन लगायत अन्य पक्षमा पुस्तान्तरणको प्रभाव देखिन्छ । गौर भाषा र लवजको नयाँ शैलीले आफ्नो मौलिकतामाथि प्रश्न चिन्ह लगाइदिन सक्छ । नयाँ पुस्ताले अँगालेको शैलीसँग पुरानो पुस्ताले संघर्ष गर्नु सजिलो हुँदैन् ।
नयाँ पुस्ताको चिन्तनले गर्दा परम्परागत ज्ञान र सीप अर्को पुस्तालाई हस्तान्तरण गर्न कठिन भएको छ । रबोटिक युगले जातीय पहिचान बोकेको हस्तकला वा काष्ठकलामा ह्रास ल्याई लापोन्मुख अवस्थामा पुगेको छ । रक र पपमा झुम्ने पुस्ताले सहनाई, ढोलक जस्ता लोकबाजा र लोकगीत बिर्सेका छन् । जातीय पहिचानको भाषा र लिपि, धर्म, अनि आफ्नो मौलिकता बिर्सेका छन् । आफ्नो बिर्सेर वा अपहेँलना गरेर अर्काको अङ्गाल्ने यो परम्पराले आफ्नो अस्तित्व र पहिचानमा संकट पार्ने निश्चित पारिदिएको छ ।
पुस्तान्तरणको दूरी बढाउन, एक किसिमले प्रविधि अभिशाप बनेको छ । प्रविधिले विश्व साघँुरिए पनि व्यक्ति–व्यक्ति बीचको दूरी भने बढाएको छ । सम्बन्धको प्रगाणतामा कृत्तिम संसारले आफ्नो छवि पोतिदिएको छ । भलै, कृत्तिम संसारले बिछोडिएका दुई सम्बन्धहरु बीच भलै सम्पर्क गराओस् तर मानवीय दूरी बढाएको कुरा पनि बिर्सन हुँदैन् । पारिवारका लागि छुट्याइने समय दिन प्रतिदिन घट्दै गएको छ । बरु यसको ठाउँमा कृत्तिम उपस्थितिले ठाउँ पाउन थालेको छ । यसले मुख्यतः व्यक्तिको समाजिक घुलमेलमा ह्रास ल्याएको छ । संसारसँग जोडिएको भ्रममा व्यक्तिले आफू अलग्गिएको पत्तो पाएको छैन् । आफ्नो काल्पनिक परिचय कुनै कल्पित ‘तेस्रो व्यक्ति’ को बनाएर आफूलाई समेत ठगीरहेको हुन्छ । यसरी आफ्नो परिचय नै अर्को बनाएर समाजिक भएको भ्रममा पर्नाले उसको कमजोरी लुकिरहन्छ । यसको दीर्घकालीन प्रयोगले मानसिक असर पर्छ । आफ्नो कमजोरी निखारिन नपाउँदा व्यक्तिमा आत्मविश्वासमा कमी आउँछ र वास्तविक सामाजिक उपस्थितिमा ऊ हिच्किचाउँछ । कृत्तिम संसारले व्यक्तिको सामाजिक उपस्थित घटाएको तथ्य पनि भुल्न हुँदैन ।
इन्टरनेटमा छोराछोरीले के गरिरहेका छन् यसमा अब अनुगमन गर्ने बेला भएको छ । यस्तोमा अभिभावकले पनि चाख देखाएर छोराछोरीबाट यसको प्रयोग सिक्न सक्छन् । मार्ग दर्शनको यस्तो प्रयासले विकृति र हुन सक्ने सम्भावित जेखिमबाट छोराछोरीलाई जोगाउन सकिन्छ ।
किशोरावस्थामा पुगेका छोराछोरीलाई यौनशिक्षा दिनु अबको समयमा आवश्यकता भइसकेको छ । उनीहरुमा हुने मानसिक र यौनिक परिवर्तनका बारेमा खुलेर बोल्नु र त्यसको उचित परामर्श दिनुपर्छ । यस्ता समस्याको समाधानको उचित उपाय गर्न नसक्नुले मानसिक चाप उत्पन्न गराउँछ र उनीहरुलाई गलत कदम उठाउन पनि सक्छन् । समाजले पनि यौनलाई गलत भनेर परिभाषा गरिदिँदा यसले थप विकराल रुप लिएको छ । यस्तोमा यसको जोखिम बढेको छ ।
बदलिँदो समयले समाज र वातावरणमा परिवर्तन ल्याउँछ । यो प्राकृतिक नियम र अस्तित्वको संर्घष हो । भाषा, संस्कृति, समाज, जीवनपद्धति समयसँग निखारिँदै आउँछन् । एक पुस्तादेखि अर्को पुस्ता सम्म पुग्दा त्यो अपभ्रंश, धरासायी वा विकास हुन सक्छ । नयाँ पुस्ताले त्यसमा सुहाउने परिवर्तन गर्न प्रयास गरेको हुन्छ । यसरी भएको संशोधनले त्यो अझ व्यवहारिक र सार्थक हुन पुग्छ । यो नियमले बदलिँदो समयसँग व्यक्ति वा वनस्पति दुवैलाई आफ्नो उपस्थिति कायम राख्न सघाउँछ । यस्तो संघर्षमा एकले अर्कोलाई उछिनेर अगाडि बढ्नु नै आफ्नो अस्तित्व बचाउने उपाय हो । मानिसमा आउने बौद्धिक परिपक्वता, जीवनपद्धतिको नयाँ ढाँचा, फरक चिन्तन, प्रविधिको उपयोगिता यही संर्घषको अंश हो । यसमा प्रत्येक पुस्ताले आफ्नो भूमिका देखाउनुपर्छ । विशिष्ट हुनुको लडाईमा भाग नलिनु लोप हुनुको पहिलो संकेत हो ।
नयाँ पुस्तमा प्रेम विवाहले राम्र्रै ठाउँ पाएको छ । यसमा अन्तरजातीय विवाह पनि पर्छ । तर अझै सम्म समाजले यस्तो विवाहलाई मान्य नगरेकोले विवाह जोडीहरु परिवारबाट निकालिएका घटनाहरु सुनिन्छन् । विधवा विवाहका कुरा र विधवाका भेषभूषामा परिवर्तन आएको छ । विधवालाई गरिने समाजिक तिरस्कारमा कमीसँगै मानवअधिकारको पनि रक्षा भएको छ । अर्कोतर्फ नयाँ पुस्ताले भएको आफ्नो मूल्यमान्यताको राम्रो खिल्ली उडाएका छन् । उदाहरणका लागि, मोबाइलमा रिङ्टोनमा बज्ने गायत्री मत्रंलाई लिन सकिन्छ । चाडवाडको वास्तविक महत्व प्रति पनि उनीहरुको वास्ता हुँदैन । रमाइलो गर्नु र रक्सीपूरकझँै उनीहरु लिन्छन् । चाडपर्व विशेषमा, जुवा, तास, र रक्सीलाई विशिष्ट ठाउँ दिन्छन् । जन्मदिनमा लगाइने ग्रहशान्तिलाई धेरै घरहरुमा केकले विस्तापित गरिदिएको छ । भाषामा पनि धेरै अङ्ग्रेजी शब्द आगन्तुक झैँ गरेर बोलिरहन्छन् । यस्ता विकृतिहरुलाई निमूल गर्न सकेमात्र पुस्ता परिवर्तन एक सकरात्मक मार्ग हुनसक्छ । तर यति हुँदा सम्म पनि पुस्तान्तरण एउटा समाजिक र स्वभाविक परिवर्तन हो । यो समय सापेक्षित र उपलब्धीमूलक बन्न गएमात्र सटिक समाजको सिर्जन गर्न सकिन्छ ।
This post was published in Janasamsad, Daily, Kakarvitta. 2012 / September / 12

No comments :

Post a Comment

Comments