Sunday, December 18, 2011

कथा : परिचित आवाज - समिक्षा निरौला । Story : Parichit Aawaaz Samikshya Niroula #niroulasweb

  2 comments
कक्षा एघारमा भर्ना भएको पहिलो दिन अत्याउने सङ्ख्याका नयाँ अनुहार बीच आफूलाई पाएँ । त्यसैदिन उच्च शिक्षामा पनि अब्बल अंक ल्याएर उत्तिर्ण गर्ने अठोट मनमनै गरेँकी थिएँ । अध्ययन क्षेत्रमा भित्रिने नयाँ विषय र शैली सिक्नु मेरो दोस्रो चुनौती थियो । यसैलाई आत्मसाथ गरेर मैले अघि बढ्नु थियो । मेरो अठोट र चुनौतीको दीर्घकालिन सन्तुलनले मलाई सफलताको भयले तर्फ लाग्न झक्झकाई रहन्थ्यो । भविष्यको खाका कोर्ने त्यस दिनहरुमा एकाएक पाएको स्वतन्त्रताको नयाँ परिधिमा विशुद्ध नयाँ आकृति – मेरो नाम ।

परिवारको निर्णय प्रमुख हुने जान्दा–जान्दै मैले फिदिमबाट विर्तामोड डेरामा बसेर पढ्ने सोच बनाएँ । विर्तामोडमा आफन्त नभएका हैनन्, तर मैले एक्लै बस्ने निर्णय लिएकी थिएँ । सुरुवाती दिनहरुमा घरको मायामा सिराने नभिजेका हैनन् । तर मैले आत्मनिष्ठूर बन्नु कुनै आधार थिएन । कारण, म आफैले त्यो रोजेकी थिएँ । नत्र फिदिम बजारमै पनि उच्च शिक्षाका कलेज नभएका हैनन् । घरकै भात खाएरै पनि पढ्न सक्थेँ । मेरो ईच्छा संग मेरो परिवारको सपना पनि जोडिन्थ्यो, जसलाई मैले जिम्मेवारीका वास्तविकतामा रुपान्तरण गर्नुथियो ।
– “नमस्ते” उसले मलाई दोस्रो दिनको पहिलो संवादका रुपमा सम्बोधन गरेको थियो । उत्तर के फर्काउँ भनेर एकपला म अलमल्ल परेको थिएँ । मेरो उत्तर सायद गल्ती भएछ । “नमस्ते” र “नमस्कार” लाई विषय बनाएर उसले तार्किक शैलीमा विचार राखेको थियो । ऊ बोल्दा मलाई लाग्थ्यो ऊ संग प्रश्नका केही वाक्य, उत्तरको निबन्ध र विचारको उपन्यास छ । आज पनि त्यो गफ यिनै चार भित्तामा प्रकम्पित भएको भान हुन्छ ।

त्ससपछिका दैनिकीमा ऊ संग तार्किक भनाभनको लहर नै चलेको थियो । त्यहाँ हार र जित कसैको थिएन । केवल दुई फरकमतको टक्कर हुनेगथ्र्यो ।

– “तिमी के बन्ने ?” प्रश्नको तात्पर्य बुझे पनि विषय मोडिने शैलीको उत्तर मैले फर्काएँ ।
“मलाई बाँदर भन, म मेरो लक्ष्य तिमीलाई भन्दिन ।”
ऊ एकछिन गम खायो । सायद ऊ सोच्दै हुनुपर्छ, के लक्ष्य विनाको मान्छे साँच्चै बाँदर नै हो त ! के बाँदरको कुनै लक्ष्य हुँदैन् !
मैले उसलाई पनि उहि प्रश्न सोधी सकेकी थिएँ ।
– “विग्रेको घडि” ऊ बोल्यो र मलाई हेरेर फिस्स हाँस्यो ।

उसको उत्तरले मलाई उसको कुरा बुझाईको कला र ज्ञानको बोध भएको थियो । जीवन सरलीकरण र विचार मन्थनको उसको कलालाई मैले सलाम गरेँ । एउटा सन्तुलित सोच राख्ने दौंतरी थियो सुजन – उसको नाम ।

दशैं अघि परीक्षा भएर विदा हुने रुटिन आएको थियो । म अरुबेला भन्दा ज्यादा समय पढाईमा दिन थालेकी थिएँ । सुजन तीन दिन देखि कक्षामा आएको थिएन । यस अघि ऊ कक्षामा नियमित थियो । ऊ विदामा स्वअध्ययन गरिरहेको मेरो बुझाई थियो । ऊ र म मैत्री थियौं । सुजन नआएको विषय बनाएर कक्षाका साथीहरुले मलाई जिस्क्याउन थालेका थिए । उनीहरुलाई हामी साथीभन्दा पनि अरु नै केही हौं भन्ने लागेको थियो । प्रतिकृयामा म केही भन्दिन थिएँ । म हाँसेरै उत्तर दिन्थेँ – निशब्द उत्तर । ऊ विदामा रहँदा मलाई पनि खिन्नता महसुश नभएका होइन । म आत्मविश्वास भएकी केटी थिएँ । आफूसंग भईरहेको ठीक या वेठीक मुल्याङन गर्न सक्थेँ र म मौन थिएँ । कारण म अनुशासित भएको आफूलाई लाग्थ्यो ।

भोलि पल्टको विहान कक्षा सुरु हुन अगावै सुनिता एकचित्तले नोट लेखिरहेकी देखेर मैले सोधेँ ।

“फेयर नोट बनाएकी ?”
उसले मुन्टो उठाई र मेरो अनुहारमा हेरेर उत्तर फर्काई, – “मेरो होइन, सुजनको नोट हो ।”
मैले कापि पल्टाएर हेरेँ । नोट सुजनकै थियो । अनि सुनिता तल्लिन भएर सार्न लागिपरेकी थिई । मैले केही सोधिराख्नै परेन सुनिता आफ्नै रफ्तारमा बोल्न थाली ।
– “हिजो बेलुका मैले सुजनलाई बजारमा भेटेकी थिएँ । उसको दाहिने हात भाँचिएको छ । बाथरुममा चिप्लेको रे । नोट लेख्न उसैले आग्रह गरेको हो । अहिले आउँदा मैले नोट लिएर आएँ । आज विहान मैले खाना पनि ल्याईदिएँ । तिमीलाई सम्झेको छ अनि आज म संगै सुजनलाई भेट्ना जाऔं । उसले तिमीलाई बोलाएको छ ।” ऊ बोलिरहँदा उसको अनुहारमा विचित्रको परिवर्तन मैले पढेँकी थिएँ । मेरो मन एकप्रकारले शान्त भए म सुजनको अवस्थाप्रति आत्तिएको थिएँ ।

सुनिताको घर, सुजनको डेरा हुँदै जानु पथ्र्यो । मैले सुजन कहाँ बस्छ देखेकी थिईनँ । हामी दुवै उसको डेरा तर्फ लाग्यौँ । ऊ सुतेको थियो । खाटमा यत्रतत्र किताब छारिएका थिए । बाटोभरि मैले अनगिन्ती दोहोरो संवाद कल्पना गरेकी थिएँ । यसको विपरित उसको अघि पर्दा म एकाएक अवाक बनेकी थिएँ । उसको अवस्था जस्तै भएपनि ऊ मेरो अघि थियो । आफू भित्र भईरहेको अनौठोपनाको निचोड निस्केको थियो । मैले बुझ्न नसकेको एउटा उल्झन सुल्झेको थियो । मेरो आखाँ, जसलाई कुनै दिन उसले राम्रा भएकाले मेरो नाम पनि शुलोचना हुनुपर्ने भनेको थियो, तिनै आखाँ उसको खोजीमा बेचेन भएको कुरा मलाई बोध भएको थियो । हामी पुग्ने वित्तिकै टिफिन बक्स उठाएर सनिता घर गएको भन्दै निस्की । प्रकाशको गतिमा ऊ त्यहाँबाट रफुचक्कर भई । सुजनले गरेको खानाको तारिफ पनि उसले सुनिन क्यार । ऊ निस्के संगै मलाई ऊ संग एक्लै कोठामा बस्दा असजिलो लागेको थियो ।


–“परीक्षा पनि आइसक्यो, तिम्रो कस्तो तयारी छ ?” प्रथमपटक हुनुपर्छ, उसले मलाई वेग्लै र व्यवहारिक प्रश्न गरेको थियो । उसले मेरो उत्तर संगै हावाको वेगमा बतासिने मैका पनि भेटिसेकेको थियो । उसले परीक्षा र विद्यार्थीको तयारी लाई विविध पक्षबाट व्याख्या गर्यो । ऊ मात्र भन्न चाहन्थ्यो परीक्षाका बेला मात्र पढ्ने हाम्रो बानी खराब हो । म सदाझैँ उसको कुरा संगै उसलाई बुझ्न थालेँ । मलाई ऊ त्यसैबेला देखि मनपर्न थालेको थियो । त्यो प्रेम नभएर उमेरको अवेगमात्र भएको पनि मैले बुझेँकी थिएँ । म उसलाई प्रेम शब्दको कुनै रुपायन बिना मेरो भावना भन्न चाहन्थेँ । मेरो ऊ प्रतिको भावना कुनै प्रेम नभएर एउटा सच्चा साथको विम्व मात्र भएको बुझाउन चाहन्थेँ । त्यो आलो भावना कुनै पनि बेला बदलिन सक्थ्यो । मलाई त्यस्तै भएको भए म अझ खुसी हुने थिएँ कारण त्यो मेरो चेतना भित्रकै कुरा हुनेथियो । मलाई यो बोझ लाग्नु अघि नै सल्टाउनु पर्ने हतारोको अनुमान लाग्यो । मैले निश्चय गरेँ । ऊ पनि त्यति सङ्कुचित चित्तको मान्छे हैन् । उसले मेरो कुरा बुझ्ने छ र मेरो प्रेमको रुपायन विना नै मेरो भावनाको सम्बोधन गर्नेछ । म त्यहाँ बाट छिटै निस्कनु नै उचित सम्झेँ ।


भोलिपल्ट बेलुका, मैले उसलाई खाना लगिदिने विचार गरेँ । आफ्नो भावना पनि उहि वहानामा उसलाई बताउने योजना मैले बनाएँ । उसको कोठाको ढोका छेऊ पुग्दा अस्पष्ट आवाज कोठा भित्रबाट आएको सुनेँ । हा. हा.. हा...को गुन्जनमान हाँसोले त्यसलाई पछ्यायो । त्यसपछि कसैले लरबरिएकको स्वरमा धाक दिदैभनेको सुनियो, “नभाँचिएको हात भाँचेर पनि शिकार खेलिन्छ देख्यौं त केटा हो ! आखिर पिंजडाको जोहो गर्न त बाँकी भो !” त्यो परिचित आवाज थियो । उत्ति नै बेला आज काकाले बेलुकाको खाना खान बोलाउनु भएको कुरा सम्झेँ । परीक्षा आउन सात दिन मात्र बाँकी थियो, अर्थशास्त्रको पढेर सिध्याएकै छैन् । म सरासर काकाको घर तर्फ हतारिएँ ।

- समिक्षा निरौला

2 comments :

  1. भाषामा बेग्लै पकड छ, पाठकको मन केन्द्रित गरेको छ । मैले तिम्रो सुदुर भविष्य देखेँ, झापाकी सफल कथाकार बन्ने निश्चित छ, सायद म गलत छैन भने । बधाई बहिनी !

    ReplyDelete

Comments