Wednesday, September 14, 2011

दृश्यहरुबीच मोनालिसा [Story] #रुविना, अनन्त र समयको दृष्यबाट

  No comments
रुविनाको दृश्यबाट
अतितको एउटा दृश्य । समयले बनाएको यो दृष्य, केही समय सम्म अस्तित्वमा आयो । अनि आफ्नै गतिले उम्कियो । यसै दृश्यमा जोडिएको छ, मेरो कथा । म संगै चाहेर वा नचाहेरै यसै कथाको पात्र बन्न पुगेको अनन्तको कथा । अनि हाम्रो कथाको साक्षी बनेको समयको कथा ।

मैले अनन्तलाई चिन्दा देखि नै ऊ अन्तर्मुखी थियो । उसको यो जन्मसिद्ध गुण मैले मानेको छु । मैले कहिल्यौं उसको स्वभाव बुझ्न सकिनँ । उसलाई बुझ्न खोज्नु उसको नामको पार पाउनु जस्तै हो । म आफूलाई यत्ति बुझाएर चित्त बुझाउँदै आएकी छु । एकदिन उसले आत्मविश्वास साथ भनेको थियो, “म जस्तो छु त्यस्तो हुन विवश छु । विवशताको विकल्प मैले आफूभित्र संग्रहित गरेको छु । म ठीक छु र खुसी पनि ।”

उसका अनुभवबाट हजारौं भावना अस्तित्वमा आउँछन् । बाहिरी संसारसँग संघर्ष गर्दै अस्तित्वको खोजीमा हुन्छन् । ऊ जस्तो छ । ऊ ठीक छ । ऊ संगको मेरो मेतरी छ । सुरुवातमा हाम्रो मितेरी सम्झैता जस्तो देखिएको थियो । हामी एक अर्का संग अपवाद हुन्थ्यौं । ऊप्रति म उत्तरदायी भएकी हैन, मैले हुनु पनि हुँदैन । उसले मलाई साथी मान्छ, असल साथी । मलाई यसमा शंका छैन् । उसको विचारसँग म सहमत छु ।

सुल्झन नसकेका अन्य समस्या प्रति उसले हेर्ने र विचार गर्ने क्षमताकोे विकास उसको दाँजोमा म संग एक भाग पनि थिएन । मैले त्यो तह सम्म पुग्नु मेरो वशको कुरा नभएको बुझेँकी थिएँ । उसलाई म सम्झाउँन सक्दिँन । ऊ किन बुझ्दैन ? कुनै बेला विचारमा अनेक मतभेद आउँछन् । म उसलाई घात गर्ने पक्षमा उभिन्छु । मैले यसको दण्ड मैले भोग्नुपर्छ भन्ने बोध हुँदा पनि यो मेरो निर्णय बन्न पुग्छ । नैतिकताले नमानेरै पनि यो चक्र चल्न दिनु ठीक हो या वेठीक ? यसको उत्तर प्रश्न मै पाउँछु । म अब यही गर्छु । माफ गर मित्र । म पनि विवशताको विकल्प खोज्दै छु । तर भन्न सक्दिन खुसी छु वा दुःखी ।

मलाई उसले एकोहोरो प्रेम गरेको धेरै अघि नै थाहा पाएकी थिएँ । उसले म प्रति राखेको भावना मलाई थाहा हुन दिने थिएन । उसलाई म मन परे पनि ऊ मलाई के पर्ला ? उसले कहिल्यौं जान्न चाहेन । उसले हिम्मत गरेरै मलाई प्रस्ताव राखेको भए, उसलाई निराशा हात लाग्ने पक्का थियो । उसको आफ्नो बुझाई कहिल्यौं रुजु नगर्नु ठूलो भूल थियो । उसको भयलाई खुसीले पछ्याउँथ्यो ।

“मान्छे प्रेममा किन डराउँछ ?!” मैले गरेको त्यो प्रश्न मेरो अभिव्यक्ति जस्तो सुनियो ।
अनन्तले मलाई भाव हिन हेरेको थियो । आफैलाई सोध्नुपर्ने प्रश्न उसलाई सोधेर मैले आफूभित्रै ग्लानी बढ्न थालेको अनुभव गरेकी थिएँ । उसले मलाई त्यसरी कहिल्यौं हेरेको थिएन ।
“मान्छे केलाई प्रेम भन्छन् ? जुन गलत हुन्छ त्यहि संग डराउँछन् ।” उसको बोलीमा विश्वास थियो, प्रेमका जल्को समेत थिएन ।

“प्रेम गर्ने बेला हुन्छ । तिमी चिन्ता नगर कसैले तिमीलाई पर्खेर बसेको छ । तिमी कसैको हौँ र कोही तिम्रै लागि हो, किन व्यर्थमा गलत हातमा पर्न प्रयासरत छौँ ?” वाक्य र शब्दमा जतिसुकै तरलता ल्याएर बोले पनि उसको बोलीको मूल सार यिनै थिएँ । मेरो विवेकले पटक–पटक मलाई यिनै शब्दका बीचमा ल्याएर छाड्न थाल्यो । मैले सोच्ने शैली पनि यही हुन थालेको थियो । म आफैलाई यी प्रश्न सोध्न थालेँकी थिएँ । तर मैले भुल्नु हुन्न मलाई स्वतन्त्र पार्न उसले कुनै कसर बाँकी राखेको थिएन् । आखिर ऊसँग यत्तिका फराकिला बाटोहरु जो थिए । यात्रा नसरेको देख्दा मैले सोच्नु स्वभाविक थियो । के ऊ उर्जाका लागि प्रतिक्षामा छ ? अथवा समय सीमाना उसैले तोकेको हुनाले त्यो समय आउनै बाँकी छ ? अनि किन उसले मलाई त्यति धेरै त्याग भरिएको प्रेम गरेको ?

“बेला हुन्छ” अर्थात “आउँदैछ, पर्खेर बस” भन्ने मेरा मित्रले सहि समयमा सहि काम गर्नुलाई आफ्नो मंन्त्र बनाएका थिए । म आज उहि पुरानो मित्रको प्रतिक्षामा छु । मलाई विश्वास छ उनले मलाई बिर्सेका छैनन् । हामी संगै जोडिएको यावत तीता र मीठा अनुभवरु । उनका कोठाका भित्ताहरुमा आखाँ घुमाउँदा म झस्कन्छु । मलाई भय छ कतै उनको स्मरण पनि उनकै कोठाका यी खाली भित्ताहरुझैँ रित्तो त छैनन् ? अथवा, जीवनका यावत् अनुभव आफैँभित्र संग्रहित गर्न सकेका उनले भित्तालाई किलाको चोट दिन चाहेनन् । भित्तालाई उनले छाती सम्झेर मुटुमा किला ठोक्ने पीडा चाहेनन् क्यार ! मैले चित्त बुझाउने ठाउँ छ । आज हाम्रो पुर्नमिलन भएको छ । शून्य प्रतिक्षा पछि ।

“तिमीले कसैलाई प्रेम गरेनौं ?” मेरो प्रश्नसँगै प्रतिप्रश्न उनले राखे ।
“कस्तो प्रेम ?”
“उही उमेरअनुसारको ।” म अनौठो सुनिएँ ।
“धेरै थिए, नाम लिन सम्भव नहोला ।”
“कसलाई बढि प्रेम गथ्यौं ।” मेरो बोली संगै छोटो हाँसो पनि छुटेको थियो ।
“स्मृति...” ऊ रोकियो र तुरुन्त बोल्यो, “.....भन्दा स्मृतिलाई बढि, ममता भन्दा मार्सललाई बढि, रुबिना भन्दा रुबिन्सलाई बढि सम...”

अनन्त आज मात्तिएर बतासिएको छ । उसलाई एकाएक बितेका दिनहरु सम्झना आईरहेका छन् । विचारका ती अनगिन्ती ज्वाराभाट उसले सम्हाल्न सकिरहेको छैन् । उसको बोलीमा अदृष्य रिस पोखेर ऊ शान्तहुन खोजिरहेको छ । अनुहारमा पसिना उसको ज्वारभाट चिसाउन देखापरेको छ । ऊ आफ्नो वातावरण संग अन्जान भईरहेको छ । उसको बोली कर्कस बन्दै गएको छ । दन्कँदो आगोको चालमा उसको अनुहार लाल हुन पुगेको छ ।

रुबिना बीचैमा रुन थाली । अनन्तले वास्ता गरेन । मानौं उसलाई होस छैन् ।
“मलाई माफ गर ।” रुन्चे श्वरमा रुबिना आँसु पुछ्दै बोली ।
“आज कोही छ, तिमी जसलाई अत्यधिक प्रेम गछौं ?”
“छ अँ.... हैन छे” अनन्त अर्धचेतन मूद्रामा बोल्यो । उत्तरले रुबिनाको हृदय हाँस्यो तर आँखा अझै बोझिल छन् ।
अनन्त रुबिनालाई विचित्रको हेराई हेरिरहेको थियो । रुबीनालाई यो असामान्य लाग्यो । उसले आफू पछाडिको भित्तामा आँखा दौडाई । रहस्यमय मुस्कानमा मोनालिसा टाँसीएकी थिई । फोटोको सतहमा मधुरो परावर्तनबीच अनन्तको छाँया टल्कीरहेको उसले देखी ।

अनन्तको दृश्यबाट
मेरो कुराले कोही रोएको त्यो पहिलो दृष्य थियो । तर म अवाक् बनेर हेरिरहन मात्र सकेँ । रुबिना मेरो अघि रुदा पनि मैले वास्ता गरिन । उसले मेरो अघि आँसु झार्दा पनि मैले वास्ता नगर्नु के मेरो प्रतिशोध थियो ? उसले के यही बुझेकी हो ? मलाई यकिन छैन् । म प्रार्थना गर्छु यस्तो नहोस् ।

ऊ निस्केर गईछ । मेरो होस भएर पनि थिएन । ऊ बोल्न नसकेर हो वा म सुन्न नसक्ने अवस्थामा भएर हो, टेबलको नेप्कीनमा मिति र समय तोकेरै लेखिछे,

२४ गते बेलुका ४ बजे पुनः आउँनेछु ।
उहि रुबिना


रुबिना त्यसदिन कक्षामा आएकी थिइन । मलाई त्यो दिन कक्षा शून्य लागेको थियो । मैले आफूलाई असन्तुलित पाएँ । त्यहाँ उसको उपस्थीति नभएको थाहा पाए लगत्तैको म हराउन थालेको थिएँ । सधैँ ऊ आउँथी तर त्यस दिन ऊ मेरो आखाँ अघि थिइन । मैले त्यसै दिने पहिलो पल्ट उसलाई सोचेँको थिएँ, त्यो नजरबाट । त्यो नै पहिलो पटक थियो र ऊ नै पहिलो व्यक्ति पनि । मलाई पत्तै भएन ।

त्यसदिन वातावरण बद्लिएको थियो । म भित्र ऐठन भएको थियो । मोबाईलका मेसेज र ईमेल सिगनेचरमा लेखिएका अनगिन्ती “आई मिस यू” हरु एक पछि एक गर्दौ मेरो संस्मरणबाट बाहिर निस्केर मलाई प्रश्न सोधिरहे झैं लागेको थियो । कसैलाई कुनै भावना विना लेखिएका ती झूठहरुले मलाई सताइरहेका थिए । मेरा लागि केही स्वीकारीय थियो । म त्यसदिन कसैलाई नदेख्नुको पीडाले तड्पेको सही हो । म आफ्नै ज्वाराभाटाबीच थुनिएको सही हो । मलाई आफ्नै तर्कले गाँजेको सही हो । म अक्टुपसको पंजाले समातिएर उम्कन छट्पटाउँदा मेरो जीन्दगीभर छोडिने दागको बारेमा सोचेर आत्तिएको सही हो । तर चोट विनाको दाग कस्तो ?

“मैले बिर्सेकी छैन् ।” ऊ बोली ।
म झस्केँ, यसको अर्थ उसलाई सबै थाहा थियो । थाहा पाएर पनि किन ऊ चुप लागेर बसेकी ? सायद उसको पनि कोही फेला परेको थियो जसको लागि ऊ थिई । म शंकालु बनेर सोच्न थालिसक्दा आफ्नै मनले भन्दै थियो । “काँतर तँ आफैँ होस्, प्रेम तैँले गरेको थिइस् तर चाहन्छस् ऊ आएर तँलाई अङ्गालोस् ।”

म होसमा थिएँ तर सोच बेहोस बनेको थियो । मेरो त्यो गैरजिम्मेवारीले मलाई फाइदा हुँदै थियो वा बेफाइदा यो बारेमा लेखा राख्ने आवश्यकता परेको थिएन । म उसको व्याख्या गर्न पुगेछु । उसको गैरहाजिरीमा पनि उसलाई उपस्थित गराउन थालेछु । यही हुँदोहो मेरो असन्तुलनलाई सन्तुलनमा राख्ने मैले नबुझेको कुनै उर्जा ।

गति बद्लिन कति बेर लाग्थ्यो र ! नयाँ मोडको सुरुवात हुन लाग्दा ऊ आएकी थिई । अझ भनौँ जीवनकालीन परिवर्तनको संवाहक बनेर ऊ आएकी थिई । भविष्य कसले देखेको छ र ? उसको आगमन नभएको भए म कुनै भासमा भासिएको हुने थिएँ । हो, म आफैँले भन्छु यो । ऊ मेरो स्रोत थिई र नजानिदो तवरले मेरो विचारसँग साझेदार भएर परिचालित भएकी थिई । पछि बुझ्दा, स्रोत, उर्जा, आदर्श व्यक्तिबाट नजिकिएर समयको सीमाना मैले तोके भन्दा अघि नै सकिएको मलाई थाहा रहेनछ ।

“तिमी भन्छौँ तिमी विपरित शक्तिको खोजीमा छौं तर किन आफू यत्ति निष्क्रिय बसेको ?” रुबिनाले दिएको तर्किक भनाभनको मध्यमा मलार्य लागेको यो भन्दा गतिलो झापड अर्को नहोला ।

मैले अब उसको हरेक प्रश्नको उत्तर सटिक अर्थको दिनुपर्ने भएको थियो । म पराजित मुद्रामा अवाक बनेर उसलाई सुनिरहन थालेको थिएँ । चाहे जसरी प्रकट बनूँ मेरो अघि ऊ अभिलेख बनेर आएकी थिई  । मेरो अघि  जिउँदो इतिहास थियो । म पनि आज उसको आखाँमा प्रतिशोध पाउँदिन ।

उसले दुःख लुकाएकी हो वा हैन्, तर उसको विचार उत्तिकै ओजपूर्ण छ जति बेला म “चलेकै छ” भनेर पन्छने प्रवृतिको थिएँ । म उम्कन चाहन्थेँ, आफ्नै स्वतन्त्र संसारमा । म प्रेरणा लिन्थेँ स्वतन्त्रताको । आज म फरक भएर ऊ संगै उसलाई यो रुपमा सम्झँदैछु ।

आज चार बजेको छ । आज समय कत्ति फरक भएको छ । ऊ आज आउने छे । मलाई एक कुनामा डर पनि लागेको छ । ऊ मलाई खुसीको परिभाषा सोध्न सक्छे । भूल र नियतको फरक सोध्न सक्छे । बदलिएको समयसँग मैले सिकेको पाठको समीक्षा सोध्न सक्छे । अथवा प्रेम र आकर्षणमा एकको पक्ष लिन सक्छे । मलाई विश्वास छ म पक्कै उसलाई अथ्र्याउन सकूँला । आज मेरो कोठाका भित्तामा मैले उसलाई सजाएको छु । आज उसको आँसु व्यर्थ बग्ने छैन् ।

भित्ताको उही मोनालिसा बीच उसलाई म मन्दमुस्कानका बीच देखिरहेको छु । ढोका सम्म आइपुगेर भित्र पस्ने अनुमतिको प्रतीक्षामा मेरी प्रिय मित्र ....... ।

समयको दृष्यबाट
केटो यो घटना भए पछि अचेत झैं बनेको छ । ऊ सोच्न थाल्छ, ऊ कत्ति बेहोसी बनेछ । केटीलाई ढोकामा देख्दा मात्र उसले थाहा पाएको थियो । केटीले ढोका खोलेको पनि उसले थाहा पाएन ।

ऊ एकोहोरो मुद्रामा कति समय देखि थियो होला ? आफैलाई प्रश्न राख्यो । केटीले के सोची होला भन्ने सम्झेर अप्ठ्यारो मान्यो । के गर्दै थिएँ होला त ऊ ? केतीले किन यसरी कल्पनामा डुब्न दिईरहेकी ? ऊ पागल झैँ मुस्कुराउँथ्यो र अनुहारमा विचित्रको आकृति पनि बनाथ्यो । ऊ एक छिन गम खायो । कतै आसुँ त झरेन । उसले तत्काल आखाँ छाम्यो । सिध्र राहतको सास लियो । मन थामिएन, ऐना हे्र्यो । उसलाई आफ्नै छायाँले “अब आफैलाई पनि विश्वास गर्न छाडिस् ?” भने जस्तै लाग्यो ।

उसले सामान्य हुने प्रयास गर्दा–गर्दै भन्न पुगेछु “कहाँ बाट आयौँ ?” उसको आवाज केटीको कानमा आईपुग्दा नपुग्दै उसले उहि गतिमा “माफगर” जोड्यो र तुरुन्त गल्ती सच्यायो । बल्ल पो उसले थाहा पायो, ऊ अझै पनि अचेत रहेछ । तर चेत हराएको रहेनछ उसले लामो सास लियो । केटाको चुकमा केटी हाँसेकी थिई । पुनः एउटा युग पछि ऊ यसै गरि हाँसेकी जस्तो केटोलाई लाग्यो । उसले पहिलो नजरले पर्ने प्रभाव सुर्धान दोस्रो मौका नपाइने उक्ती बुझेको थियो ।

“भित्र आऊ भन्दैनौं ?” केटीले केटोको होस् भङ्ग पारी ।
“भित्र आऊ” केटोले भन्न नपाउँदै ऊ आएर अघि नै केटो बस्ने कुर्सीमा बसिसकेकी थिई । केटीलाई हेरेर केटो दङ्ग भयो । के भई रहेछ ! को कसको घरमा छ ! कि मैले उनीलाई बिर्सेको हूँ ?  कसरी सक्छु ? म आफैलाई बिर्सुला तर उनको स्मरण मेरो संस्मरण भित्र कुँदिएको छ । त्यो नासवान छ, मात्र म संग । केटो आफूलाई बुझाउँछ ।

ऊ पूनः संस्मरणमा हराउँछ, “त्यस दिन ऊ त्यो बाटो नगएको भए हुनेथियो जस्तो उसलाई लाग्छ । गई हालेको भए पनि केटीको साइकल नबिग्रेकाले ऊ उभिइरहेकी नभेटेको भए हुने थियो । केटीलाई उसले चिन्तित नदेखेको भए हुनेथियो । अझ भनौँ, उसले देखेर पनि वास्ता नगरेको भए हुन्थ्यो । ऊ साइकलबाट बीच सडकमा नबज्रिएको भए हुने । लाजले रातो–पीरो भएको बेला केटी नहाँसेकी भएहुने । उसको हाँसोको बदलामा केटो रिसाएर, केटीले गालीका लागि दुई चार शब्द खर्चेको भए हुन्थ्यो ।

केटीले आत्तिएर ऊ तर्फ हेरेकी थिई । त्यो पहिलो हेराई थिएन तर हेराईको प्रभाव केटोलाई पहिलो लागेको थियो । उनीहरु एउटै कक्षामा बच्चै देखि पढ्दै आएका थिए । कटीका कैयौं हाँसो र कुरा उसले सुनेको छ । ऊ संग कैयौं पटक आखाँ पनि जुधेकाछन् । तर त्यस दिनको एकै निमेष केटोलाई कल्पनामा उडाउन प्रयाप्त थियो । बेहोसीको संसार नै आनन्द लाग्न थालेको क्षण थियो त्यो उसका लागि । केटीलाई सधैंको समयमा देख्न नपाउँदा ऊ छट्पटाउन थाल्नुको समय थियो त्यो । उसलाई पछि एका–एक सक्दो आवाजमा चिच्याएर भन्न मन लागेको थियो – “म प्रेममा छु” ।

“तिमी के लिन्छौं ?” केटोले उठ्दै सोध्यो ।
“त्यो पेन्टिङ् ।” केटीको जवाफले केटो चकित भयो ।
“के पेन्टिङ ??” केटीका आखाँ भित्ताको क्यान्भासमा थिएँ । केटाको अनुहार केटीले देखिन नत्र  उसले त्यो विचित्र रुप देख्न सकिन ।
“यो क्यान्भास, तिमीले बुझ्यौं ।” केटीको अनुहार र आवाज सामान्य थिए । कुनै बनावटी अभिनय थिएन ।
यसपटक कटीले ठट्टा गरे जस्तो केटोलाई लागेन ।
“छैन्, त्यसै टाँसीदिएँ । म रङ्गले पोतिएको वृत मात्र देख्छु । तिमीले बुझ्यौं ?” केटीको ध्यान कत्ति गहिरो गरी खिचिएको ! केटोले यो सोच्दै जवाफ दियो ।
“सायद, वृतले जीवन र नीलो रङ्गले फराकिला हृदय जनाउँछ ।” केटी उत्तिकै भावुक भएर बोली ।
केटोले क्यान्भास तिर आँखा लगायो । त्यहाँ नीलो रङ्ग थिएन । नियालेर हेर्दा उसले वृतको परिधि निलो रहेको थाहा पायो ।
“दैव जानुन !” केटो लापरवाही सुनियो ।

केटोले कसैलाई प्रेम गर्न थालेकामा खुसी थियो । उसले प्रेम चिनेको उसको बुझाई थियो । ऊ आफैलाई, त्यो उमेर अनुसारको भावना मात्र भएको र हरेक कुराको समय हुन्छ भनेर आश्वासन र सुझाव दुवै दिन्थेँ । तर पनि मन कहाँ एकै ठाउँ अडिन्थ्यो र ! अहिलेको उमेरमा प्रेम नहोस् त कहिले ? उसलाई पछि सहि छु भन्ने लाग्दै गयो । तर सहि थियोँ वा गलत यसको उत्तर कहिल्यौं पाएन ।

ऊ यत्ति बुझ्थ्यो, उसलाई प्रेम थियो । कति थियो ? उसले तौलन जानेन । उसले झूट बेच्न सिकेन । सोच र विचार स्वतन्त्र छाडिदिएको थियो । अन्तर्मुखीको पनि सीमा होला भनेर कुनै बेला आफै संग झर्कन्थ्यो । उसलाई उसैले गरेको कसै प्रतिको प्रेम बोझ झैं लागेको थियो । उसले  भन्न नखोजेको हैन् । तर डरले काप्थ्यो । केटीको उत्तर जे सुकै भए पनि उसलाई स्वीकार्य थियो । मात्र डर थियो, कतै उसको कारणले केटीको ऊ प्रतिको आदर नबिग्रिओस् ।

कलेजको भ्रमणका दिन नयाँ वातावरण बीच केटोले केटीलाई अरु बेला भन्दा सुन्दर देख्यो । ऊ केटीको नजिक हुँदा ऊ भित्र उत्पन्न हुने विचित्रको तरङ् संग ऊ परिचित भए पनि त्यस दिनको अनुभव नौलो थियो । त्यस दिनले आउने समयमा उनीहरु बीच त्यत्ति ठूलो फाँटो ल्याउथ्यो भन्ने केटोलाई अनुमान हुन्थ्यो भने ऊ त्यो घडी आउन दिने थिएन ।

केटी दुई संगिनीका बीच थिइ । त्यस दिन, केटोको उत्ताउलो साथीले समय सापेक्षित कुरा गरेको भए हुन्थ्यो । समय र विचारको तालमेल गरेर कुरा राखेको भए पनि हुन्थ्यो । भाषा शैलीमा होस् गरेको भए हुन्थ्यो । अरुलाई प्रस्ताव राख्न लगाउने केटोको वुद्धिको पछुतो भयो । चाहे जे होस्, उसले स्वीकार गर्नु थियो । उसले लुकेर कुरा सुन्न मात्र सक्यो । “मान्छे केलाई प्रेम भन्छन् ? जुन गलत हुन्छ त्यहि संग डराउँछन् ।” उसको तर्क उसैलाई बोझ बन्यो ।

“त्यो कस्तो प्रश्न गरेको ?” केटीले उसलाई सोधेको पहिलो र अन्तिम प्रश्न थियो । “के उसले प्रश्न राख्यो र ?” केटोले  साथी तर्फ हेर्दै भन्यो । केटोको साथी हिम्मत गरेर भनिदे भन्ने ईसारा गर्दै थियो । तर केटोले न हो भन्न सक्यो न हैन् ।

त्यो क्षण उनीहरु बीच आखाँ तर्कन सुरु गरेको क्षण थियो । एउटै जमातका बीच दुई किनाराबाट यात्रा गर्न सुरु गरेको क्षण थियो । केटोले समय संगै केटीलाई बिर्सियो । केटीको रहस्यमय हाँसो  बिर्सियो । दिन, हप्ता, महिना र वर्ष पछि केटीको आगमनले केटोलाई सवै स्मरण गराएको छ । केटीले पनि पुराना कुरा विर्सेर आएकी छे । केटो यत्ति मै खुसी छ ।

“मम्मी ....” केटोको ध्यान आवाज संगै ढोका तिर खिचियो । एउटै उमेरका लाग्ने दुई बालिका आएर केटीलाई अङ्गाले । केटो चकित परेर अक्मकिँदै बोल्यो ।

“तिम्रा छारीहरु ! जुड्वा हुन् ! के ... कहिले ... नाम के होला ?”
“मोना लिसा” केटीको स्वर दबेको थियो ।
“कलेज सकिए पछि म .. .. .. ..” केटीले बोझिल आखाँ संग आफ्नो जीवनको पहिलो अध्याय सुरु गरेकी थिई । केटोलाई भित्ताको केन्द्रमा टाँसिएको मोनालिसाको चित्रमा रहस्यमय मुस्कान बीच केटीको हाँसोको झल्को मिल्यो ।

समाप्त

No comments :

Post a Comment

Comments