Saturday, May 7, 2011

प्रेममा कमजोर छु (कथा)


च्याट रुमको मिलन हाम्रो मित्रताको स्रोत बन्यो । त्यसो त मलाई च्याट रुमबाट बनेका साथीहरु च्याटमै मात्र सीमित राखेको राम्रो लाग्छ । कसको पो विश्वास गर्न मिल्छ ? एक कोठामा बसेर अर्को कोठाको व्यक्तिलाई समुद्रपार भनिदिन मिल्ने । एकप्रकारको मजा लाग्छ मलाई । तर च्याटमा हुने यौन लापरवाही र गोपनीयताको राम्रै तहमुनि लुकेर अनैतिक शब्द विस्फोट गर्ने कार्य च्याट प्रतिको मेरो घृणा दर्साउने पहिलो उदाहरण हो । तर सीमित व्यक्तिको दिनचर्या नै बनेका यस्ता कृयाकलापबीच कसैको शक्ति मान्नुपर्छ जो असुरक्षित ठाउँमा पनि सुरक्षित बन्न सकेका छन् ।

–“हाई”

“शुभसन्ध्या”

मेरो सम्बोधनमा उसले शुभसन्ध्या भनेर दिएको देख्दा म छक्क परेको थिएँ । यस्तो अनुभव मेरो जीवन पहिलो पटकको थियो । उसको शैलि विल्कुलै नौलो थियो अनि आदर योग्य पनि ।

–“नाम के होला ?”

मैले नाम जान्न चाहेँ । नाम हैन तर त्यहाँ लुकेको अर्को प्रश्नको उत्तर म जान्न चाहन्थेँ ।

“जाबो नाममा के छ ? न भन्दा हुन्न ?”

कुरा सही थियो तर मलाई बुझकी बनु जस्तो लागेन ।

–“किन नभन्ने ? कि आफ्नो नाम नराम्रो छ भनेर हीनताबोध भएको हो ?”

नसकने रहेछ । कुरा बङ्गाउने उसको प्रयास मैले बुझेँको थिएँ र भाउ दिन वास्ता लागेन । मैले अन्तिम संवाद स्वरुप लेखेँ–

–“लौ भयो ! चाहिएन त्यस्तो गोप्य नाम ! म च्याटप्रसाद विराटनगरबाट ।”

मैले च्याट बन्द गरेँ र गुगल खोजीमा व्यस्त थिएँ । जोसेफ हिलरको ‘क्याच–ट्वान्टी टू’ उपन्यास इबुकमा पढ्नु थियो । डाउनलोड गर्न तम्सिएको थिएँ ।

भिडियो कलको अनुरोध स्क्रिनमा आयो । मेरो हेल्लोको उत्तरमा उसले एकै श्वासमा बोली–

“नमस्कार म सुरुचि । इटहरीबाट । रिसाउनु भा’को ?”

–“हैन होला । पत्यार लागेन ।”

मनले पत्याए पनि दिमाग मान्न तयार थिएन मेरो । उसले विश्वास र गोपनीयताको कवज तोडेर बोली–

“सत्यकुरामा विवाद गर्ने मेरो बानी छैन् । मेरो घर इटहरी चर्च पछाडी छ ।”

त्यसपछि ऊ सँग पटक–पटक नियमित कुरा भयो । ऊ मोटी छे । ठूलन आँखा प्राय गाजल पोतिएको हुँदैन । ओठ पनि प्राकृतिक हुन्छ । लिपिस्टिक पोतिएको हुँदैन । छोटो बोल्छे तर आवाज र बोली दुवै तार्किक छन् । प्राय ऊ हाँसेकी हुन्छे र हाँस्दा मिलेका दन्तलहरका साथमा गालामा बस्ने डिम्पल । मोरीको रुपरङ्ग लोभ्याउने खालको छ । बोल्ने उसको आफ्नै शैली छ । एक टकमा मनिटरमा हेर्छे र कतै हलचल नगरी कुरा गर्छे । पहिलोपल्ट उसलाई देख्दा नै मैले यो बुझेको थिएँ ।

दिनानुदिन मिलनको सामिप्यसँग मित्रताको सामिप्य र दूरी दुवै घटेछ । हरेकसाँझ हामी यसरी नै भेटथ्यौँ । कोही अनलाइन आउन नसके यति कारणले आउन नसकेको भनेर औपचरिक बन्ने बानी बसिसकेको थियो । नत्र हरेक बेलुका दिनभरको समीक्षा गरिन्थ्यो । सल्लाह, सुझावको आदन–प्रदान हुन्थ्यो ।

ऊ म भन्दा जेठी छे । मैले कति पटक मर्यादा अनुसारको साइनो प्रयोग गर्न खोजेको थिएँ तर उसको ठाडो असहमति हुन्थ्यो–

“मलाई तिमी भन्न सक्दैनौ ?”

मलाई पनि ‘तिमी’ भन्न सजिलो हुन थालेछ । पत्तै पाइनँ ।

एकसाँझ उनैको मेल पढ्दा मेरो हंसले ठाउँ छाड्यो । आत्तिहल्ने विषयवस्तु थिएन तर अत्याउने अवश्य थियो ।

“भेट्न आउनेकी ?”

भनेर अनुरोध गरेकी रहिछ । ऊ मात्र मेरो इच्छा बुझ्न चाहन्छे तर म प्रस्तावले नै आत्तिएको छु । ऊ मेरो अनुमति चाहन्छे । मेरो उत्तर जे होला तर भित्री चाहना डर बनेर बाहिर निस्केको म मुल्याङ्कन गर्छु । उनकै शैलीको छोटो मेल उत्तर स्वरुप तीन अक्षर लेख्छु–

–“हुन्छ, कहिले ? कहाँ ?” उत्तरलाई सिग्नेचरले पछ्याउँछ ।

कसैलाई पहिलोपल्ट भेट्न जानुथियो । मैले जिम्मेवारीसाथ यो महसुस गरेको थिएँ । अनलाइनमा जिस्कनु सजिलो छ तर कसैसँग प्रत्यक्ष भेटेर मित्रतालाई स्थायी राख्नु मेरो लागि चुनौती थियो । दोस्रो व्यक्ति केटी परिदिनाले पनि म अझ चिन्तित थिएँ । म स्वतन्त्र रुपले साथीको नाताले भेट्न जाँदैथिएँ तर पनि मन डराएको थियो ।

उसको उत्तर मैले सधैँको समयमा बेलुका पाएँ तर म दिनभरिनै उत्तर आयो कि भन्दै मेल बक्स हेर्दै रहेँ । शुक्रबार बेलुका ४ बजे बसपार्क आउनु भनेकी थिई । साथमा अब ऊ शुक्रबार सम्म म अनलाइन आउन नसक्ने तर केही परेमा खबर गर्ने उसले लेखेकी रहिछ । कोष्टकमा “बस्ने गरी” पनि लेख्न भ्याइछ ।

मैले मेल पढेको औपचारिकता स्वरुपको जवाफ प्रेषित गरेँ । भर्खर सोमबार हुँदै थियो । तीन सग्ला दिन पर्खनुपर्ने थियो । शुक्रबार म विशेष उल्झनमा परेँ । म कस्तो देखिन्छु भन्नेमा मलाई चिन्ता थिएन । तर आउन लागेको समयको अवस्थासँग म अन्जान थिएँ र चिन्तित पनि । म यस्तै सम्झदै अन्तत जस्तो छु त्यस्तै बनेर गएँ ।

बसमा धेरै पटक घडी हेरेँ । ४ बज्न ५ मिनेट बाँकी नै रहेछ । बसबाट ओर्लेर फेरी एक पटक हेरेँ र बिसैनीतर्फ आँखा दौडाएँ । ऊ गुलाबी कुर्थामा सजिएर पर्खिरहेकी रहिछ । हाम्रा आँखाले एकैसाथ मिलेर चिनेछन् क्यार ऊ हाँसी । म पनि लजाइ–लजाई हाँसे ।

“अरे ! चार बज्जु अघि नै ।” आँखा जुधाउने साहस नभएर घडि हेर्दै मैले कुरा सुरु गरेँ ।

“अँ ! भर्खर आईपुगेको ?”

यसपटक उसले मेरो आँखामै हेरेर उत्तर दिई । मैले पनि साहस गरेरै उसलाई हेरेँ । हामी हिँड्न थालिसकेका थियौँ ।

म आउने कुरा उसले घरमा राखेकी रहिछ । वातावरण म आत्तिए भन्दा सहज थियो । बुवा, आमा, बहिनी र भाइसँग अभिवादन भयो । केहीबेर गफ भएपछि आमा र बुवा कतै निस्कनु भयो । भाइ, बहिनी होमवर्क गर्न व्यस्त थिए । ऊ अर्को कोठामा गई । भान्सा रहेछ । चिया लिएर आई । आदतले चिया खादिन थिएँ तर नाई भन्न सकिनँ । मैले आधा कप खाँदा उसले अघि कप रित्याइसकिछ ।

उसले भान्सामै व्यस्त हुने कुरा बताई । उतै गई । एकैछिनमै होमवर्क भन्दा गफ धेरै भए । म चियाको कप बोकेर भान्सामा गएँ ।

“ए ! किन ल्याएको ? बोर भो होला है ?”

–“अँह भएको छैन् ।”

“रोटी मनपर्छ ?” उसले पीठो ठीक पार्दै भनि ।

–“अँ ! मनपर्छ तर नबनाऊ ।”

“हामी त बेलुका रोटी खान्छौँ ।” उसले म तिर फर्केर भनि ।

–“ए राम्रो ! म पकाउँला ।”

ऊ फिस्स हाँसी ।

रोटी उसैले पकाई । म पनि भान्सामै बसेँ । पकाएर आधा भएको थियो । आमा बुवा आइपुग्नु भयो । बेलुका खाना खाएर हामी अबेर सम्मै भान्सामा थियौँ । उसले मलाई सुत्ने कोठाको ढोकाछेऊ छुटिने बेलामा भनि–

“मेरो पनि भोलि विराटनगर जाने काम पर्‍यो ।”

“ए ! सँगै जाऊँला ।” मैले कारण सोधिनँ ।

मेरो विहानै हिँड्ने सुर थियो तर ऊ मानिन । खाना खाएर विदा भएर हामी विराटनगर आयौँ । उसको साथीको ‘बर्थ–डे’ रहेछ । उसको पनि बर्थ–डे नजिकिएको रहेछ । मलाई उसले निम्तो गरी । म भोलि इमेल गरुँला भन्दै ऊ आफ्नो बाटो लागी ।

म इमेल चेक गर्छु । प्रेम–पत्र स्वरुपको एउटा मेल आएको छ । म अलमल्ल परेँ । उत्तर दिउँ वा प्रश्न गरु ? उनको कुरा प्रेम भन्दा माथि छ । मलाई शंका थियो । केटा र केटीमा स्वतन्त्र भएर त्यस्तो मित्रता फस्टाउन सक्ने कुराको । मैले विषयमा केही प्रतिकृया दिइनँ ।

–“तिम्रो जन्मदिनमा भेटेर कुरा गरौँला ।” मैले लेखि पठाएँ ।

उसको जन्मदिनको दिन मैले उनलाई विवाह बन्धनमा बाधिँएका दुई पुतली उपहार स्वरुप दिएँ । ऊ निक्कै खुसी देखिन्थी । ऊ निक्कै सुन्दर पनि देखिएकी थिई । उसले मसँग एकान्तमा कुरा गर्न चाही र हामी कौशीमा पुग्यौँ ।

उसले कुरा सुरु गर्दै भनि–

“तिमीलाई मेरो कुराले चोट त पुगेन ?”

मैले बुझेको थिएँ उसले इमेलको कुरा गरिरहेकी छे । मैले सामान्य कुरा भएको प्रतिकृया दिएँ । ऊ विशेषतः मेरो रोजाई प्रति लक्ष्यित थिई । मैले सोधेँ–

–“तिमी मलाई प्रेम गछौँ हो ?”

ऊ लजाई । अनि स्वीकृति आशयमा मुन्टो हल्लाई ।

–“थाहा छ प्रेम के हो ?”

ऊ बोल्न खोज्दै थिई । मैले उसलाई बोल्ने मौका नदिई भनेँ–

“म पनि तिमीलाई प्रेम गर्छु तर तिम्रो सपनाको संसारमा सारथी बन्न हैन ।”

म जान्छु नभनी त्यहाँबाट निस्के । मेरा आँखा रसाएका रहेछन् ।

के हो प्रेम ? कसरी हुन्छ प्रेम ? के दुईजना बसेर प्रेम गरौँ भनेर प्रेम सुरु हुन्छ त ?

तपाई मान्नुहोस् या नमान्नुहोस् । म प्रेमको मामलामा कमजोर छु ।

-----

No comments :

Post a Comment

Comments