Wednesday, January 5, 2011

पिँजडाको सुगा । "कथा"

  No comments
आफ्ना पखेटाले पिँजडाका बारमा हिर्काउदा-हिर्काउदा शरीर सबै रगताम्य भैसकेको छ तै पनि उसले ती आफ्ना कार्यहरु गर्न छाडेको छैन पिँजडाका वारका डण्डीहरु टोक्दा-टोक्दा उसका दाँतहरु सबै भाँचिइ सकेका छन्, नंग्राले खोस्रदा-खोस्रदै नङहरु उप्किएर गइसकेका छन् । तर पनि ऊ त्यही गरिरहेको छ । उसलाई थाहा छ, त्यसो गर्दैमा ऊ माथि कसैको पनि दया पलाउने छैन । तर पनि उसलाई मतलब छैन । उसलाई अब कत्ति पनि बाँच्ने रहर छैन । उसलाई पिँजडाभित्र गुम्सिएको जीवन भन्दा मृत्युनै सहज लाग्न थालिसकेको छ । त्यसैले त ऊ त्यसै गरिरहेको छ जसो गर्दा उसको शरीरमा पीडा हुन्छ र जुन पीडाले उसको मनको पिडालाई केही हदसम्म भएपनि भुल्न मद्दत गर्छ । उसलाई यो पनि स्पष्ट थाहा भैसकेको छ कि आजको यो आधुनिक भनाउँदो मानिस जो पैसा र भौतिक सुखमा निर्लिप्त भएको छ, जसलाई अर्काको भावना र सुखसँग कुनै सम्बन्ध छैन, कुनै सरोकार छैन, त्यस्ता मानिसबाट ऊ माथि कुनै दया हुने वाला छैन तर अब उसका ती संघर्षहरु, ती घिटघिट्याहटहरू त्यस पिञ्जडाबाट मुक्ति पाउनकालागि नभएर केवल उसको मानसिक पीडा कम गर्नकालागि मात्र भइरहका छन् ।


ऊ पिँजडामा घुमिरहेको छ । उसका घायल र रक्तरञ्जित पखेटाहरु फ्याट-फ्याट पार्दै पिँजडामा ठोकिरहेको छ । बेला-बेला ऊ बेहोस हुनेगर्छ फेरि बिउँझन्छ, उसलाई अतीतको याद आउँछ । ऊ आफ्नो घर सम्झन्छ, आफ्ना बाल-बच्चा र आफ्नू परिवार अनि आफ्नी प्रियसीलाई सम्झन्छ । उसलाई अहिले पनि त्यो क्षणको याद आइरहेको छ, त्यो दिनको याद आइरहेको छ, जुन दिन ऊ र उसकि मिठु दुबैजना चारो चर्नकालागि दिउँसोतिर गुँडबाट निस्किएर जंगलभित्रबाट गाउँतिर गएका थिए । उसलाई के थाहा केही छिनमै उनीहरुको दुर्गति आउँदैछ भनेर । गाउँमा पुगेको केहीबेरमै ऊ शिकारीको जालमा परेको थियो शिकारीले उसकी प्रियसीलाई पनि जालमा पार्ने प्रयास नगरेको त हैन तर ऊ जसोतसो बँच्न सफल भएकी थिई । उ सम्झन्छ, आज एक बर्ष पूरा भएर दोस्रो बर्ष लागिसकेछ उनीहरुको बिछोड भएको । त्यस दिनदेखि उसका आँखामा निन्द्रा परेको छैन । रात भरि ऊ उसकि मिठुलाई सम्झने गर्छ । धेरै रातहरु उसले आँसु बगाएको-बगायै बिताएको छ । उसका मान्छेका स्वरुप भएका मालिकहरु मस्त निन्द्रामा हुन्छन्, ति नरपिशाचहरुलाई के थाहा र बिछोड हुँदाको पिडा । आजका यी स्वचालित यन्त्रमानवहरुले अरुको पनि मन हुन्छ र त्यो दुख्छ होला भन्ने बिर्सिसकेका छन् । आफ्नो खुसिको लागि अरुलाई कज्याएर राख्नुमा आफ्नो महानता ठानेर त्यसैमा गर्व गर्ने र आफ्नू मन रमाउनका लागि आफन्तकै मनको भए पनि वलि दिन तयार आजको महामानव सँग अब उसको भन्नु केहि थिएन । ऊ त केवल आफ्नो अन्तिम क्षणको पर्खाइमा थियो ।


ऊ सम्झन्छ, ऊ माथिको यो अन्याय र अत्याचारको विरुद्ध ऊ आवाज उठाउन सक्छ, विद्रोह गर्न सक्छ तर पनि ऊ यो सब गर्न चाहाँदैन, किनकि उसलाई थाहा छ उसले त्यसो गरेमा उसका ती रक्तपिपासु मालिकहरुले उसको सारा परिवारलाई एकै गाँस बनाउन पछि पर्ने छैनन् । आफ्नू मुक्तिका लागि आफ्नू परिवारको जीवन वलि दिन पनि त सक्दैन ऊ । यी सारा कुरा सम्झँदा-सम्झँदा फेरि उसका आँखाहरु रसाएर आउँछन् । उसको मन फेरि दुख्न थाल्छ । उसलाई पीडा हुन्छ, छट्पटि हुन्छ ऊ फेरि पिँजडाका वारहरु टोक्न थाल्छ, भुईहरु कोतर्न थाल्छ र पखेटाहरु रगट्न थाल्छ । उसको मुख, खुट्टा र सारा शरिरबाट रगतको भल बग्न थाल्छ । उसलाई शारिरीक पीडा हुन्छ र उसको मन दुखेको केही कम महसुस गर्छ । ऊ फेरि अतीतमै फर्कन्छ । उसलाई फेरि पुरानै यादले सताउन थाल्छ । ऊ सम्झन्छ उनीहरुको पहिलो भेट । जंगलमा अनायसै उनीहरु दुईको भेट भएको थियो । पहिलो भेटमै एक आपसमा आँखा जुधेका थिए । कति रमाइला थिए ती दिनहरु उसलाई ती दिनको सम्झनाले भित्रबाटै शीतल भएर आउँछ । कति माया गर्थी उसले, ऊ पनि कम्ति माया गर्दैन थियो । उनीहरु जहाँ गए पनि सँगै जान्थे, जे खाए पनि बाँडेर खान्थे । एकैछिन पनि छुट्टिएर कहिल्यै बस्दैनन् थिए । कोही एक जना एकैछिन छेलिए मात्र पनि उनिहरुलाई कति पीडा हुन्थ्यो ।


उनीहरुको मिलन कति छोटो समयमा भएको थियो र उनीहरु सँगै बस्न पनि कति छोटो समय मात्र पाएका थिए । मिलन भएको ६ महिना पनि नबित्तै बिछोडिन बाध्य भएका थिए उनीहरु । उनीहरुको त्यो प्रगाढ माया, त्यो निश्छल, निश्कपट र निस्वार्थ प्रेम अनि उनीहरुले बुनेको संसार कति चाँडै बालुवाको घर भत्किएझैं पानीको भल सँगै भत्किएर गएको थियो । ऊ उसकी मीठुलाई सम्झन्छ, कति ठूला-ठूला सपनाहरु थिए उसका । आजकाल के गर्दै होलि ऊ? छोराछोरीले बाबाको खोजी गर्दा के भनेर सम्झाउँदी हो ऊ? ती बचरा को अगाडि झुट बोल्नु पर्दा उसको मन कति गाँठो पर्दो हो? आफ्नो मायाको यादमा कति तड्पिएकी होली? कति छट्पटाएकी होली? उसको त्यो तड्पाइ छट्पटाहट लाई व्यक्त गर्न न कुनै ठाउँ थियो न कुनै साथी थिए । यी सारा यादले पुन उसलाई पीडा हुन्छ । उसको मनमा ज्वालामुखी बिस्फोट भएझैं हुन्छ । उसका आँखाहरु रसाएर आउँछन् ऊ आफूलाई नियन्त्रण गर्न सक्दैन । आफ्ना पखेटाहरुलाई बारमा रगड्न थाल्छ । खुट्टाहरु भुइँमा कोतर्न थाल्छ, मुखले बार टोक्न थाल्छ । ऊ निरन्तर त्यसै गरी रहन्छ । उसको सम्पूर्ण शरीरबाट रक्तस्राव भइरहेको छ तर उसलाई यसको कुनै पर्वाह छैन । आफूलाई पिँजडाकोमा कैद गर्ने मानिसप्रति को रिस ऊ उसका हक अधिकार र स्व्तन्त्रताको लक्ष्मणरेखा कोरेर बसेको त्यो निर्जीव पिँजडाको र त्यो उसको निर्दोश शरीर माथि पोखिरहेको थियो । सायद उसले आफू एक्लो वेसाहारा र निर्धो हुनुको प्रतित गरिरहेको थियो । केही समय पछि ऊ वेहोस भएर ढल्छ, वेहोसिमै उ केही बर्वराएझैं गर्छ । सायद उसकी मिठु र परिवार भेटिएका हुँदा हुन्, उसले खुट्टा तन्काउँछ, पखेटा दुई पटक फ्याट-फ्याट पार्छ र आँखा पुलुक्क उघार्छ उसका आँखा अगाडि उसको मालिक आफ्नू अजंगको शरीर लिएर उसको दयनीय स्थिति लाई हेर्दै मुस्कुराइरहेको हुन्छ । उसले आँखा चिम्लन्छ, मुक्तिको सास फेर्छ र सदा-सदाका लागि आफ्नो संघर्षको अन्त्यको घोषणा गर्छ ।

एउटा पिँजडाको सुगाले आफ्नो परिवार र मायाको वियोगलाई सहन नसकेर आफ्नो प्राणको वलिदान गर्‍यो तर यो कुरा मानिसले किन बुझ्न सकिरहेको छैन? आखिर किन मान्छे चेतनशिल प्राणी भएर पनि मानव जस्तो व्यबहार गर्न सकिरहेको छैन? के पायो त्यस मान्छेले जसले कथित स्वतन्त्रा दिएर सुँगालाई घरमा पालेको छु भन्ठानेको थियो? खै के पायो त्यस समाजले जसले त्यस सुँगा माथि त्यति ज्यादती गर्दा पनि त्यस मान्छेलाई नै समाजको अगुवा बनाएर अघि बढिरहेको थियो? यो समाजबाट यी प्रश्नहरुको जबाफ पाउन गर्‍है पर्छ जुन समाजमा माया र प्रेमको खिल्ली उडाइन्छ, गरिब, असाहय, र सडक बालबालिकाहरुलाई अलच्छिनी, टुहुरा र खाते जस्ता उपनामहरु दिइन्छ । तसर्थ हामीले नयाँ समाजको परिकल्पना गर्नै पर्छ ।

समाप्त

"यो कथा मेरो सिर्जना हैन् । काका रवीन भट्टराईको सहयोगमा मैले केही कथा पढ्न लिएको थिएँ । कथामा लेखक नखुलाईएकाले मैले राख्न सकिन । कथाको सामजिक रुप र सारलाई हेरेर यहाँ प्रकाशीत  गरेको हूँ । आशा गर्छु यसबाट हजुरमा सकरात्मक उजा प्रवाह होस् ।
धन्यवाद ।"

No comments :

Post a Comment

Comments