Sunday, December 26, 2010

सभ्यता, संस्मरण र म

  2 comments
आज पुनः उहि ठाउँमा उभिँदा यस्तो लाग्यो कि यहाँका हरेक वस्तु, हरेक कण-कणले मलाई चिन्दछन् । आज यहाँको हरेक चिज मेरो उपस्थितिले रमाएको छ । म हिड्दा जमिनबाट उहि पहेँलो धुलो उडेर मलाई स्पर्श गरेको छ । हावाका हरेक कण मलाई प्यारो लागेको छ । लाग्दैछ, नाकको अपरेशन बिर्सेर, माक्स हटाएर, यो धुलो हावामा एक मुस्ट सास फेरुँ । यस्तै रहर लागेको छ । धुलोको कुहिरो भित्र नाचेको यो ठाउँ संगको पुरानो मितेरी भएरै मैले यो धुल्लाम्मे वातावरण सहर्स स्वीकारेको छु । विगतका यावत स्मरण र भोगाईका तीता-मीठा अनुभव अकस्मत दिमागमा एकाएक ठोक्कीरहेका छन् । लाग्छ कि म उस्तै गरि उफ्रिउँ र उहि उल्लासले यो वातावरण र मेरो संस्मरणको रोचकता संग सम्मिलित हुन सकूँ । उमेर, ए अब त बुढो भइस भन्छ । मन केटाकेटी, दिमाग बच्चा बन्ने । यो धुलोले मलाई स्कूल प्रवेशको पहिलो ४ वर्ष सम्म पढ्न, बढ्न र रम्न सघाएको छ । आज १६ वर्ष बित्दा पनि बीचका हजारौँ भोलिलाई चुनौति दिँदै म छुट्टी हुँदाको उस्तै उल्लासले कराउँ "छुट्टी..!!" र पुनः भोक र थकाईलाई बिर्सेर घर जाने उज्जवल अनुहारको खुसी अनुभव गरुँ । भारी झोला त्यो थाकेको ज्यानले कसरी छुट्टीको उल्लासमा उचाले र चिच्याउने उस्तै जोश जागेको छ ।

यो ठाउँ हो जहाँ म कुद्दा लडेर धेरै पटक सर्ट पोतिएको छ । स्कूल जान्न भनेर रुँदा अनि कहिले कुटाई भेट्दा आँसु यसैमा मिलेको छ । कक्षामा कहिले काँही घुडाँ टेक्दा मेरा घुडाँमा यिनै धुलो र ढुङ्गाले घोचेको छ । लाग्छ पल-पलका ती संस्मण र धुलोका कण-कणले मलाई स्वगत गरिरहेका छन् । लाग्दैछ यो मलाइ सोध्दै छ, अाज मात्र याद अायो ? कता थिइस ? ठूलो भइछस, हामीलार्इ के सम्झन्थिस अब ।

विहान प्रर्थना सभामा कपाल नकाटे केटी बनाईदिन्छु भनेर डर देखाएको ठाउँ हो यो । पानी पर्दा कागजको नाउ बगाएको ठाउँ, खल्तीमा खाजा खन्याएर चौर भरि खाँदै हिडेको ठाउँ, एक रुपैयाको जोडि मेल किनेर नुन संग खाएको ठाउँ, उहि मेलको चोप चुहाएर सर्ट भरि टाटै-टाटा बनाएर घरमा गालि र सरसफाईमा ध्यान पुर्यारउन उर्दि पाउन सघाएको ठाउँ, अनि स्कूल प्रवेशको दोस्रो वर्ष नै लुगा मैलो भएको सजाय स्वरुप ईंटा माथि घुँडा टेकाईएको ठाँउ, मलाई एक किसिमले यो ठाउँले "म" बनाएको छ । अपराधको सुहाउँदो सजाय हुनुपर्छ भन्ने मलाई सानै देखि सिकाएको छ ।

यस्तै-यस्तै अनुभव र कहिल्यौँ नफिर्ने गरि छोडि आएको समयको ताजा सम्बन्ध सम्झँदै मैले आज पुनः यो ठाँउ टेकेकोछु । म अहिले मैले पहिलो दिन पढेको कक्षा कोठाको ठीक पूर्व पट्टी पश्चिम फर्केर उहि स्मरण सम्झँदै उहि धुलोमा उभिएको छु । लाग्छ म आफैलाई १६ वर्ष अघिको दृष्यमा हेरिरहेको छु । मेरो अगाडिको कोठामा खाजा खाने बेलामा पहेँलो बट्टा खोलोर रोटिको टुक्रा चुडेर मुखमा हालिरहेको म अाफै लाई देखिरहेको छु । लाग्छ म उहि सानो केटो भोलि पल्ट आएको छु । तर आज दृष्य बदलिएको छ । तर म यहाँ यहि पुरानो दृष्य देखिरहेछु । यहाँ जे थियो त्यो हेरिरहेछु । यहाँ भएका त सवै वर्तमान छन् । भूत र समयचक्रमा रुपान्तरणित भएर नै आज यो बनेको छ । तर म भित्र कैद त्यो चित्र म भित्र नै सिमित छ । त्यो हेर्न मैले पनि भूत र समयलाई चुनौति दिनुपर्छ । अनि म विवश छु, म सक्दिन । समयले हरेक कुरा समानुपातिक बदलेछ ।

दक्षिण तिरको सरिफाको रुख त लाग्छ बडेकै छैन् । त्यसको मुख्य हाँगो मेरो छाति सम्म आउथ्यो आज नापिँदा उहि उचाईमा छ । कस्तो तालमेल । यहाँ एउटा टाँढे घर थियो । यसै घरको सुगा उडेर यो सरिफामा बसेको थियो । अनि गोपी नाम गरेको त्यो सुगा फकाएर यो घरमा बस्ने म सँगै कक्षामा पढ्ने साथीको अामाले बोलाएकी थिइन । रुखका हाँगा उस्तै फैलिएको छ । पात उस्तै बाक्लो, उसै गरि धुलोले पात छोपेको छ ।

यहि रुखको मुन्तिर मेरो कक्षा कोठा थियो । आज यसको फेदमा उभिँदा एक दिनको कक्षा याद आयो । म यसको फेदमा घुँडा टेकेर घोक्न दिईएको गृहकार्य कक्षा समाप्त हुनुभन्दा अघिनै घोकेर पानी पोखे झैँ सलल भट्याउँने सर्तमा घोकि रहेछु । म घोक्दै छु । "Sun rises from the east."; "Earth is round."; "Sun is big ball of fire."; "Planets and other heavenly bodies rotates sun." म एउटै नक्साबाट प्रष्ट भएको थिएँ कि सूर्यलाई ग्रहहरुले परिक्रमा गर्छन् तर पृथ्वी गोलो भएको कुरा मलाई Globe को अवधारण दिँदा पनि बुझेँको थिईन । बरु आफ्नै किसिमको आधा भाग जमिन र आधा भाग हावा भएको गोलाकार पिण्डलाई पृथ्वीको बनोट भएको बुझेर कक्षा ४ सम्म यसै गरि पढेको थिएँ । मलाई याद छ, कक्षा ४ मा मात्र मैले पृथ्वीलाई पृथ्वीकै बनोटले चिनेको थिएँ । "मिसले पढाएको सधै सत्य हुन्छ" भन्ने चेतना लिएर पढ्ने त्यो बेलामा मैले किन नस्वीकारेको आफैलाई अचम्म लाग्छ । फेरि उत्तिनै बेला, घरमा बुबाले मिस झुक्किएर भएको गलत हिज्जे सच्याईदिनु भएको गृहकार्य नगरेर उहि मिसले भनेकै गलग हिज्जे सारेर पनि गएको छु । मैले बुवा भनेको कुरा सम्झेर लाज लाग्छ, तपार्इलार्इ अाउँदैन, मिसले भनेको ठीक हो ।

हामी कक्षामा धेरै थिएनौँ । छात्र र छात्राको अनुपात अगभग उस्तै थियो । पछि प्राय छात्राहरु स्कूल छाड्थे । त्यतिबेला मिसले र साथीहरूले नामले बोलाउँथे । सबैलार्इ सबैको नाम थर याद थियो । यो मलार्इ अति प्यारो लाग्थ्यो । एक दिन स्कूल नगए भोलि पल्ट मिसहरू हिजोको वृतान्त सोध्नु हुन्थ्यो । स्कूल नियमित नआए मिसहरु जुनसुकै बेला घरमा पुग्ने डर देखाउनु हुन्थ्यो । कक्षामा मात्र नभएर घरमा समेत वहाँहरुको अनुशासनको पहुँच पुग्थ्यो । मिसहरूले भनेको कुरा पनि कडाईका साथ टेरिन्थ्यो । अनुशासन हो वा डर थाहा भएन तर मान्छे जिन्दगीमा मान्छे बन्ने तालिम थियो त्यो ।

मैले किताब भनेर चिनेको नर्सरीको "[ All In One ] अल ईन वान" थियो । मैले त्यो घरमा हेरेको थिएँ । त्यसको गातामा मोनिटर, CPU र किबोर्ड एक माथि एक गरेर बनेको एउटै सग्लो कम्पूटर थियो । सायद एप्पल कम्पनिको थियो त्यो । पुरानो मोडल । हो वा हैन, रकेट पनि भएको याद छ । अनि सुन्तला रङ्गको जामा लागाएकी, कपालले निदार छोपेको र कुम सम्म अाउने छोटो कपाल भएकी, दाँत देखाएर हाँसेकी, खालि खुट्टा उभिएकी केटी थिई । केटाको जैविक गुण नै होला अहिले सम्झन्छु त्यो केटीलाई देखेर उहि बेला म कल्पित भएको थिएँ र म भित्र आन्तरीक तरङ उत्पन्न हुन्थ्यो ।

किताबको पहिलो पृष्ठको माथिल्लो भागमा ठूलो र सानो अक्षरको "Aa" लेखिएको थियो साथमा एउटा सिङ्गो र अाधा स्याउ थियो । मुन्तिर "Bb" बाट केटाको फोटो हुनुपर्छ, यकिन भएन । साथिहरुको पनि उहि किताब थियो । म सम्झन्छु एक साथी, मलाई नाम यकिन भएन, उनको किताब च्यातिएर "Kk" सम्म पुगेको थियो । मेरो च्यातिएको थिएन तर नक्सामा चस्मा बनाएर वा जुगा बनाएर अथवा कोरेर कुरुप भएको थियो । मैले "X for Xylophone [ जाईलोफोन ]" को उच्चारण कहिल्यौँ जानिन, गरिन र लेखिन पनि । कक्षा १२ को परिक्षा दिए पछि कक्षा १ मा पढ्ने भान्जिले भनेको सुनेर मात्र सिकेको हूँ ।

कक्षामा सवैको टिफिन अगाडि राखिन्थ्यो । खाजा खाने बेलामा मिसहरुले बट्टा खोलेर दिनु हुन्थ्यो । मेरो र राजु सुबेदी भन्ने साथीको टिफिन बक्स एउटै थियो । स्टीलको त्यो गोलो डब्बा । उसको र मेरो टिफिन धेरै पटक साटिएको छ । घरमा पुग्दा आमाले बट्टा खोल्दा मात्र थाहा हुन्थ्यो । पछि पछि आमाले "यो चिज हालिदिएको छु" भनेर घरमा भन्नु हुन्थ्यो । स्कूलमा बक्स साटिएमा "मेरो हैन" भनेर म अर्को लिन्थेँ । थाहा नभएको बेला साटिने चलन रहिरहन्थ्यो । कोही बेला अालुको सब्जी र पुरी खुबै मिठो हुन्थ्यो । यो चाहिँ राजुको कृपाले ।

मैले ३ कुरा एकै पटकको निर्देशनबाट सिकेको याद आउँछ । मैले टाई बनाउन ठूलो कक्षाको दाईले बनाएको एकै पटक हेरेर सिकेको थिएँ । घडि हेर्न आमाले घरमा सिकाउनु भएको थियो । २ मा ठूलो काँटा पुग्दा १० हुन्छ । अनि मलाइ समय पनि याद छ, बेलुका को ५ बजेर १० मिनेट, जसलाइ मैले ५ बजेर २ मिनेट भनेको थिएँ । तत्कालिन राष्ट्रिय गान एकै पटक सुन्दा याद भएको थियो ।

त्यति बेला पढाईको खासै ख्याल हुदैन थियो । यति मात्र थाहा थियो फेल भयो भने अर्को कक्षामा जान पाइन्न । म नेपाली सानै देखी पढ्थेँ । कक्षा १ मा हुँदा नै मैले कक्षा १० सम्मको नेपाली किताबको सबै पाठ पढेर सिध्याएको थिएँ । मलाइ जस्तो सुकै शब्द पनि उच्चारण गर्न अाउँथ्यो । म शब्दको अर्थ बुझेर पढँथे । पाठ पढिसकेर यो पाठमा के नयाँ कुरा रहेछ भनेर म अनुमान लाउँथे । कथामा कुन पात्र ठीक र कुन पात्रले अन्याय गरेको छ मलाइ ज्ञान हुन्थयो । म अामालाइ यस्तो कुरा पढेँ भनेर सुनाउँथे । गुरूप्रसाद मैनालीको कर्तब्य कथा पढेर मैले अामा लाइ मुरलीधर राम्रो मान्छे रहेछ भनेर सुनाएको थिएँ । अामाले मलाइ कथाको बारेमा अरू थप कुरा भन्नु भएको थियो । म कथाको पात्रले कस्तो अवस्था भोगेको छ, यो मानसिकता बुझन सक्थेँ । म उसको कुरा बुझथेँ र कथाका अरू मान्छेले किन नबुझेका होला भनेर चिन्तीत हुन्थेँ । एउटा अर्को कथा मलाइ अामाले बुझाइ दिनु भएको थियो । एउटा मुर्तिकारले कृष्णको मुर्ति बनाएर पनि बेच्न मान्दैन । उसले त्यो मुर्तिमा उसको मरेको छोरालाइ देख्दो रहेछ । भिनाजुको सुइटर भन्ने कथामा दिदीलाइ रिगँटा लाग्यो भन्दा मलाइ त्यो अाफैलाइ लागेको जस्तो भएको थियो । यो कथा मात्र एउटा थियो जुन मैले चाहेर पनि बुझन नसकेको । यो सायद अाधा मात्रै छापिएको जस्तो लाग्यो मलाइ । अहिले अाएर थाहा भयो त्यो त याैन मनोविज्ञान रहेछ । अनि कथा सक्ने त्यो तरिका मैले अनुसरण गर्ने प्रयास गरेको छु । यी नयाँ कुरा खोज्ने रहर अहिले सम्भव छैन् । अनेक किसिमले स्मरण गर्न खोज्दा पनि निरस वाक्य र शब्दहरू एकैछिनमा बिलयमान हुन्छन् ।

हामी त्यति बेला शिक्षिका लाई "मिस" र शिक्षक लाई "सर" भन्थ्यौँ । बिहे नगरेका केटीलाई मिस भन्छन भन्ने पनि थाहा थिएन । फेरि सवै जना विहे गरेका हुनुहुन्थ्यो । अहिले त भान्जा, भान्जी, भाइबैनी विवाहित शिक्षकालाई सानै कक्षा देखि Mam' [ मेम वा मेडम ] भन्दा रहेछन् । त्यतिबेला माथिल्लो तहका कक्षाहरुमा कुनै पनि शिक्षिका नभएको सम्झन्छु । मलाई पनि कक्षा १ सम्म कुनै सरले पढाउनु भएन । गंगा मिस, बेबी मिस, मेरो घर छेउकै राधिका मिस, अनि काँकरभिट्टाबाट आउनु हुने पुष्पा श्रेष्ठ मिसले मलाई पढाउनु भएको हो । गंगा मिसको नङ लामो थियो । हाम्रो नङ लामो भए काटिदिनु हुन्थ्यो र कपाल काट्न घरमा भन्नु भन्नुहुन्थ्यो । मलाई उहाँको नङ लामो भएको तर हाम्रो नङको चासो राख्नाले हामी प्रति उत्तरदायी भएजस्तो लाग्थ्यो र म कहिल्यै घरमा भन्दिन थिएँ । अनि मिसहरु आफै मात्र टेबल फेन ल्याएर हावामा बसेको मलाई मन पर्दैन थियो । अरु बेला फेन सवैमा पुग्ने गरि घुमाईएको हुन्थ्यो । यसरी दिन भरि नै उनीहरु संग समय बित्थ्यो । अहिले कुनै पनि मिसहरु पढाउनु हुन्न । थाहा छैन् कहाँ हुनुहुन्छ । सवै संग भेट्न मन लागेको छ ।

म संग स्कूल जाने साथीहरु, पर्शुराम र निराजन थिएँ । हामी संगै जान्थ्यौ र संगै आउथ्यौँ पनि । हाम्रो घर गाउँमा भएकाले गाडि सम्म पुग्न ८०० मिटर हिड्नु पर्थ्यो । अहिले त यो दुरी म ७ मिनेटमा हिडछु । तर त्यति बेला अनेक गफ र उट्पट्याङ कुरामा अल्मलेर आधा घण्टा भन्दा धेर समय लाग्थ्यो । तर हामी स्कूल जाँदा सरासर जान्थ्यौँ आउने बेलामा अनेक उपद्रो गर्दौ आउथ्यौँ । यो काम गाडि बाट ओर्लेर ५० मिटर भित्रै बाट सुरु हुन्थ्यो । बाटोको दायाँ तर्फ पैनी छ । पैनी पारी किम्बुको दुईवटा रुख छ । हामी हरेक दिन स्कूल बाट घर आउँदा भूईम झरेको किम्बु टिप्थ्यौँ । बोट बाट टिप्न हाम्रो उचाई पुग्दैन थियो । रुखमा चढ्दा मान्छेले देख्लान भन्ने पीर । सुरु सुरुमा भूईको टिपेर नै खाईयो पछि पछि रुखमा टिप्ने पनि गरियो । तर जे होस् किम्बुको स्वाद राम्ररी चाख्न पाइयो । अहिले सम्झन्छु त्यतिबेला किम्बु टिप्नुमा पनि खुट्टा तनाई हुन्थ्यो । कुनै दिन हामी एकै ठाउँ थुपारेर बाटोमा बाड्ने भनेर सल्लाह गर्थ्यौ । कुनै दिन आफू-आफू टिपेर, कस्ले धेरै खानेमा प्रतिशपर्दा हुन्थ्यो । कसैले आफूलाई चाहिने जति टिपिसकेमा केही पर पुगेर "किम्बु चोर्र्यो है…….!!" भनेर कराउँथ्यो । भोलि पल्ट आफै चोर्न जानु त छँदै छ । हामीले यसरी ४ वर्ष सम्म किम्बु टिप्दा कसैले कुनै दिन सोधेन, झपारेन । लाग्छ घरका मान्छेहरु थाहा पाएर केही गर्दैन थिए वा कुनै दिन थाहा पाएनन् । फेरि बाटामा रुख छ, केटा-केटीले खान्छन् त के गर्नु !! त्यो रुख अझै छ, मैले आज सम्म कोही अरुले त्यस ठाँउमा किम्बु टिपेको देखेको छैन् । संग्रौलाको रुखबाट किम्बु टिपेर खाँदै बाटोमा हामी "माथि-माथि संग्रौलाले दुई-हल-गोरु किनेछ" भन्नै गीत गाउथ्थौँ । अहिले मेरो घरमै किम्बु छ तर मलाई खान वास्ता लाग्दैन । घर आउने क्रम मै, केही तल बाटो मै जोडिएको पोखरी थियो । त्यसमा पैनी बाट पाईप लगाएर पानी हालिन्थ्यो । त्यो जहिल्यौ थुनिएको हुन्थ्यो । हामी हरेकदिन पाईप थुन्न लगाईएको चपरी निकालेर पानी संगै बगाएर पोखरी भित्र "आयो.....?" भनेर सोध्थ्यौँ । चपरी सकिएपछि हामी बाटो लाग्थ्यौँ । हामी त्यो पोखरी पानीले भरिएको हेर्न चाहन्थ्यौँ । आज कति पानी भएछ ! भनेर हरेक दिन नियाल्थ्यौँ । अत हरेक दिन पानी खुल्ला गर्थ्यौं । केही वर्ष अघि यो पोखरी पुरेर समथल बनाईएको छ ।

म कक्षा २ देखि अर्को स्कूल गएँ । नयाँ वातावरणमा मेरो परिचय नै हरायो । परिचय संगै धेरै कुरा गुमाएँ । आफ्नो अस्तित्व पुर्ननिमार्ण गर्न संघर्ष गर्दै "एकालकाँटे" यात्रा सुरु भयो । शैलि र अनुभव केही मिलेन । म चिन्तित, डर र एक्लो भएर पढ्न थालेँ । म के थिएँ के भएँ । यहाँ स्वतन्त्रता गुमेको थियो । जतै डर थियो । पढाउने सरहरू सँग सबै डराउदा रहेछन । लाग्थ्यो स्कूल नभएर कुनै यातना गृह हो । हरदम डराएको र चाहिने भन्दा बढि अनुशासनमा रहेको बुझेँ । आखिर भन्नु त कसलाई ? मैले त्यसैलाई स्वीकार्नु थियो र पढ्नु थियो । किताब पनि "उखु खाएर फालेको खोस्टा" जस्तो लाग्थ्यो । कमजोर विद्यार्थीको "राम्रो बेईज्जत" र तुच्छ वर्गमा राखेर पढाई हुँदोरहेछ । शिक्षकको व्यवहार विद्यार्थी पिच्चे फरक-फरक थियो । एउटै गल्ती दुईले गरेमा विद्यार्थीको स्तर हेरेर सजाय तोकिन्थ्यो । अनि एक शिक्षकको यातना गृह "[Store-Room ] स्टोर-रुम" रहेछ । एक दिन मलाई भनिएको थियो । "तँलाई स्टोर-रुममा लागेर नाङ्गै बनाएर यो पेटी खोलेर कुटुम ?" उहाँ गणीतको शिक्षक हुनुहुन्छ । मैले कक्षा ७ सम्म वहाँ संग पढेँ तर पाठ छानेर आधा-आधा मात्र पढ्दै आईयो । कक्षा ८ मा शिक्षक फेरिए पछि मात्र थाहा भयो, गणीत के रहेछ ? अब यसरी तर्सेर छुट्टी भए पछि घर जाँदा, कताको किम्बु कताको पोखरी, सवै मिथ्या लाग्यो । न कोही साथी न गफ, मात्र स्कूलको पक्षपात । मलाई एक प्रकारले नयाँ स्कूल बुझ्न १ वर्ष नै लाग्यो र साथी चिन्नै मैलै २ वर्ष लागएको हुनुपर्छ । अझ शिक्षक त मैले चिन्नै नसकी स्कूलबाट विदा भएँ । एक मनले लाग्छ मलाई मेरो दोस्रो स्कूल कत्ति पनि मनपरेन । तर एक-दुई शिक्षक अत्यन्तै प्यारो लाग्छ । यहाँ ठूलो पक्षपात थियो । उनीहरुको शैलि पालन गर्न नसक्नु मेरो कमजोरी थियो तर त्यसको खिल्ली बनाउनु शिक्षक र विद्यार्थीलाई अधिकार थिएन । आज याद गर्दा धेरै ढिलो भईसकेछ । अब कसरी सकरात्म बनुँ ?

आज यो धुलोमा उभिएको छु तर यो धुलो आज त्यो धुलोको प्रतिनिधि मात्र गरेको छ । यसले नयाँ सभ्यता संगको युद्ध हारेको छ । अनि यो र म दुवै विवश छौँ । मैले यो स्कुल छोडे पछि गुमाएको परिचय र यो ठाउँको परिचय उस्तै होला । आज त्यो धाराको भर्नावशेष मात्र वाँकी छ जसमा म टाउको भिजाएर कपालबाट पानी चुहाएर यो धुलो भिजाउँथे । आज सरिफाको रुखमा धुलो नभएर सिमेन्ट र बालुवाको मिश्रणले छोपेको छ । सायद ऊ आफ्नो दिन गन्दै होला । अनि त्यो ठूलो "Gulmohar" रुख काटिएछ । अझै याद छ मिसले त्यो रुख देखाएर सम्झउनु भएको थियो । यो रूख गुलमोहरको रूख हो । अनि त्यसको जराले कहाँ-कहाँ सम्म भित्र गएर पात सम्म पानी ल्याएर हामीलाई शीतल बनाउने प्रकृयाको व्याख्या दिमागमा चित्र बनाउँदै सुनेको र बुझेँको थिएँ । अनि जसको तल हामी १ रुपैयामा आउने फिरफिरे र त्यसैमा जोडिएको चकलेट खाएर यसकै छाँयामा उडाउने गथ्यौँ । रूखबाट एक किसिमको मसिनो फुल खस्थ्यो । जमिन भरि कलेजी रातो छरिएको हुन्थ्यो । आज त्यस रूखको ठूटो मात्र बाँकी छ तर त्यसमा [ Rod ] रड बङ्याउन दूईवटा रड गाडिएको छ । कस्तो विडम्मबना । स्कूल केही पर सरेको छ । अहिले सहरीकरण भएर मेरो कक्षा भएको ठाउँमा नयाँ भवन निमार्णधिन छ । सवै तिर सिमेन्ट र बालुवाको थुप्रो छ । त्यो माटो पनि हराएको छ जसले मेरो सर्ट मैलो हुन्थ्यो । सुन्छु यो निर्माणाधिन घरका सवै कोठा भाडा लागि सक्यो रे !!

2 comments :

  1. सन्दिप निरौला जी रमाइलो तरिकाले विगतको आफ्नो वितान्त सुनाउनु भो नि !
    गलत हिज्जे लेख्ने या उच्चारण गर्ने कुरा चाही -यो शिक्षक, शिक्षिकाको भुत हो भन्नु पर्ला - मेरो पनि दाइको छोरी ले त्यसै गरेको देख्दा छक्क परेको थिए ! बाबु यस्तो हो भन्दा त ...होइन मिस ले त अर्कै भन्नु हुन्छ, तपाइँ लाइ आउदैन भन्दै-रुदै कराउन पो थाल्यो ! तर अर्को तरिका ले सोच्ने हो भने एउटा राम्रो छाप हो त्यो .... शिक्षक, शिक्षिकाहरुले जे सिकायो त्यो सहि र राम्रो हो भन्ने छाप पर्नु !

    ReplyDelete

Comments