Sunday, October 17, 2010

विद्रोह । Rebellion

  1 comment
स्नातक तहसम्मको पढाइ भर्खर–भर्खर मात्र सिध्याएको थियो हिरेले । अब उसको योजना कुनै एउटा साधारण नेपालीको भन्दा बिल्कुल फरक थिएन । बस् कुनै एउटा बोर्डीङ्गस्कुलमा उसका प्रमाण–पत्रहरू धरौटिमा राखेर केही बर्षसम्म पैसा कमाएको अभिनय गर्ने जो आम नेपालीको हुने गर्दछ । उसको योजना मुताबिकनै उसले पनि एउटा बोर्डिङ्गस्कुलमा जागिर पाएको थियो । त्यस स्कुलमा ऊ एउटा अंग्रेजी बिषयको शिक्षकको रुपमा प्रवेश गरेको थियो । ऊ प्रायः समयमानै स्कुल पुग्ने गर्दथ्यो । उसलाई कुनै पनि विद्यार्थीले सिधा नजरले हेरेको मन पर्दैन थियो । ऊ चाहन्थ्यो कि उसका अगाडि पर्दा जस्तोसुकै विद्यार्थीले पनि शिर झुकाएर हिंडोस् । किनकि ऊ सानु छँदा उसले त्यस्तै शिक्षा पाएको थियो । उसलाई सरले घोक्न दिएको पाठ घोकेर समयमा नबुझाउँदा पिटाई खाएको अहिले पनि दुखीरहेको थियो । बाटोमा शिक्षकलाई भेट्दा नमस्ते नगरेको निमा साथीहरूको अगाडि पिटाई खाँदा नतमस्तक बनेर निहूरीनु परेको थियो । सायद यस्तै बातावरण्मा हुर्केकाले होला ऊ पनि क्रुर, निर्दयी र विद्यार्थीको भावनासँग वास्ता नगर्ने स्व्भावको थियो । उसको स्व्भाव र बोर्डिङ्गस्कुलको सिद्धान्त मिल्नगएको थियो । उसको प्रिन्सिपल पनि ऊबाट यस्तै कुराको आशा गर्दथ्यो । ऊ चाहन्थ्यो कि उसका शिक्षकहरू देखि विद्यार्थीहरू तर्सिउन्, भएको पनि यस्तै नै थियो । ऊ देखि प्रायः स्कुलका सबै नै विद्यार्थीहरू डराउने गर्दथे । उ त्यस कुराप्रति गर्व गर्दै नाक ठाडो पार्ने गर्दथ्यो ।

ऊ अंग्रेजी बिषयको शिक्षक भएको नाताले अंग्रेजी व्याकरण पढाउनुनै पर्दथ्यो । अंग्रेजी व्यकरणका टेन्स, भ्वाइस, स्पिचजस्ता पाठले विद्यार्थीहरूलाई पसिना निकाल्नेगरेको उसले महसुस गरेको थियो । कक्षा सात मा उसको पहिलो घण्टी पर्दथ्यो । विद्यार्थी हाजिरकपि, चक, डस्टर र एउटा चिल्लो पारिएको छडी (जुन उसको पहिचाननै बनिसकेको थियो) बोकेर ऊ कक्षा कोठामा प्रवेश गर्दछ । कक्षामा विद्यार्थीको निरन्तर घोकाइको आवाजले वातावरण संगीतमय बनेको थियो । कुनै चलिरहेको कारखानामा विद्युत आपुर्ती बन्द भएझैं उसको प्रवेशले कक्षा कोठामा एक एक आवाज घट्दै गयो र एकैछिनमा चकमन्नता छायो । कक्षा कोठामा उसले आफ्नो उपस्थितिको राम्रै आभास पायो । विद्यार्थीको हाजिर बोलाई सकेपछि आफ्नु बिषयबस्तुतिर प्रवेश गर्न थाल्यो ऊ । अघिल्लो दिन अंग्रेजी व्याकरण स्पिचका नियमहरू लेखाएर घोकेर कण्ठ बनाउन उसले उर्दी जारि गरेको थियो । आज त्यसैलाई सोध्नुपर्ने थियो । उसले यसो कक्षा कोठा नियाल्यो सम्पूर्ण विद्यार्थीहरू डराइ रहेका थिए । जङ्गलमा चरिरहेको मृगको वथान कतैबाट बाघको गन्ध पाएर सतर्क भएझैं सम्पूर्ण विद्यार्थीहरू सतर्क भएको पायो । सायद उनीहरू आफुलाई नआउने नियमहरू को संख्या गनेर त्यस बराबरको सजायकालागि आफुलाई तयार गरिरहेका थिए होलान् । सदाझैं उसले पहिलो वेन्चबाट सोध्न सुरु गर्यो । सोध्दै उ पाचौं वेन्चमा पुग्यो । जुन वेन्चमा कक्षाका औसत भन्दा अलि कम क्षमता भएका तीन जना छात्रा बस्ने गर्दथे । उनीहरू अन्य विद्यार्थीभन्दा बढिनै डराईरहेका थिए । उनीहरू मध्ये पहिलोले लगभग आधा जति उत्तर दिन सकी । दोस्रो छात्रा उठेर भन्न खोजिरहेकी थिई तर ऊ सकिरहेकी थिईन उसले आफ्नु टाउको दुखेकाले घोक्न नसकेको र भोलि कण्ठ गरेर सुनाउँछु भनेर भनी तर हिरेले हुन्न भनेर भन्यो । ऊ अचानक रुन लागी, सम्पूर्ण कक्षाकोठा स्तब्ध भयो । हिरे पनि अचम्ममा पर्यो । उसले उसलाई रुनुको कारण सोध्यो ऊ केही पनि नबोली रोई मात्र रही । उसको रुवाईले हिरेको ढुङ्गा जस्तो मन पग्लिएन बरु उसको शरीरमा भूत सवार भएर आयो । उसलाई एक थप्पड हान्यो छात्राका आँखा राताराता भएका थिए । ऊ पनि रिसले चूर्ण भएकी थिई । उसले पुनः आफ्नू हातको छडी उठाएर त्यसमाथी थप्न लागेको थियो । सधैं त्यसो गर्दा रुँदै–रुँदै निहुरिने छात्राले आज उसको हातको छडी खोसेर फालिदिई ऊ अचम्ममा पर्यो । उसले आज चरम यातनाको पराकास्टा भोगेकी एक छात्राले गरेको विद्रोह देखिरहेको थियो । ऊ आफूलाई सम्हाल्न सक्ने अबस्थामा थिईन । त्यस घटनाले हिरेको मनमा तिक्तता छायो । उसलाई आज कसैलाई पनि सजाय दिन मन लागेन । त्यसै–त्यसै उसको मन बटारिएर आयो उसलाई त्यहाँभन्दा अगाडि बढेर पढाउन मन लागेन । ऊ त्यसै–त्यसै कक्षाकोठाबाट बाहिरीयो । त्यस दिनभरिनै उसको मन ठिक थीएन । उसले कुनै पनि कक्षामा राम्रोसँग पढाउन सकेन । चार बज्यो र स्कुल छुट्टी भयो ऊ घरतिर लाग्यो । घर जाँदा बाटामा पनि उसलाई त्यही घटनाको याद आइरह्यो, आखिर किन रोइ ऊ ? के ऊ मेरो आजको पिटाइलाई मात्र संझेर रोएकी हो, या महिनौ देखिको मेरो पीडा र यातनाको एकमुष्ट विद्रोह थियो यो? ऊ घर पुग्यो घरमा आमाले खाजा बनाएर राखिदिनु भएको थियो । कपडा फेरेर ऊ खाजा खान टेवलमा बसेको थियो । तर उसको मन भने त्यै केटीको रुवाइको वरिपरि घुमिरहेको थियो । उसका वरिपरि रहेका सम्पूर्ण पदार्थले उसलाई नै गिज्याइ रहेका जस्तो लाग्छ उसलाई । ऊ घरको कौशीमा बसेको छ । एक हुल मानिस वाटामा हाँस्दै हिंडिरहेका छन् । ति मानिसहरुले उसलाई नै हेरेर हाँसिरहेका जस्तो लाग्छ उसलाई । उसका घर परिवारका सम्पूर्ण मानिसहरूको अनुहारमा त्यो छात्राको विद्रोही अनुहार देखिरहेको छ । साँझ खाना खाएर सुत्यो ऊ तर उसलाई निन्द्रा लागिरहेको थिएन । उसलाई आज आफैंदेखि घृणा लागेर आइरहेको थियो । एउटा शिक्षक भएर एउटा विद्यार्थीमाथि उसको अभिभावकको भूमिका निभाउनुको सट्टा उसले एउटा राक्षसको व्यबहार देखाएको थियो उमाथि । उसको रुवाई र उसको विद्रोह आज उसलाई चुनौती बनेर आइरहेको थियो । एउटा शिक्षक जो विद्यार्थीलाई कुटेर नै जान्ने बनाउँछु भनेर लागिपरेको थियो । एउटा शिक्षक जो विद्यार्थी आफ्ना अगाडि झुकेर हिंडेकोमा गर्व गथ्र्यो । आज त्यस छात्राको रुवाइले उसका ती सिद्धान्तहरु माथि नै तिखो व्यङ्ग प्रहार गरिरहेका थिए । नपढ्ने विद्यार्थीलाई सुधार्न पिटाइनै अन्तिम उपाय हो भन्ने उसको धारणा आज लाजले शिर झुकाई रहेको थियो । समय–समयमा बिभिन्न शैक्षिक संस्थामा भैरहने यस्ता घटनालाई उसले सामान्य रुपमा लिने गरेतापनि आज उसले आवश्यकताभन्दा बढी सजय दिंदाको परिणाम अनुभब गरिरहेको थियो । आज उसलाई थाहा भयो कि एउटा वेलुनमा त्यसको क्षमताभन्दा बढी हावा कोचिएमा के हुने रहेछ ?

भोलिपल्ट, ऊ सदाझैं कक्षामा प्रबेश गर्छ सम्पूर्ण विद्यार्थीहरू छक्क र अचम्भित भएर उसलाई हेरिरहेका थिए । उनिहरूका आँखाहरु जिज्ञासु र उत्सुक देखिन्थे, किनकि उनीहरुले सधैं–सधैं देख्दै आएको क्रुद्धअनुहार आज उसँग थिएन । सधैं–सधैं उसका साथ रहँदै आएको छडी पनि आज उसको साथ थिएन । आज त ऊ सँग केवल एउटा हँसिलो मुहर र हातमा चक, डस्टर अनिहाजिरी कपी मात्र थियो । सदाझैं उसले उनीहरू माथि सुरुमै प्रश्न बर्षाएन बरु आज उसले एउटा कथा भनेर पढाउन सुरु गर्यो । सबै विद्यार्थीहरू प्रफुल्ल थिए । सबैजना एकदमै खुसीसाथ मुस्कुराइरहेका थिए । पढाएका कुराको बीच बीचमा प्रश्न गर्दा सहजरुपमा सही जवाफ दिइनै रहेका थिए । आज उसलाई विगतका आफ्ना कार्यहरु प्रति पश्चाताप भइरहेको छ । उसले थाहा पाउँछ कि एउटा विद्यार्थीले सहजरुपमा सिक्नकालागि दण्ड र सजायको हैन कि हौसला र प्रोत्साहनको आवश्यकता पर्दोरहेछ । त्यसैले ऊ वाचा गर्छ कि अब देखि ऊ उसका पुराना बानीहरु कहिल्यै दोर्‍याउने छैन ।
लेखक : रविन भट्टराई

1 comment :

  1. विद्यार्थीको मर्म राम्रो संग बुझिएको देखियो :) ! कथा राम्रो छ ! अरु पनि लेख्दै जानु होला !

    ReplyDelete

Comments